नेपालमा पहिलो पटक जनजाति फिल्म एवं सङ्गीत अवार्ड हुने भएको छ । हुकुम मल्टिमिडियाको आयोजनामा 'ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड २०१९' थाइल्यान्डमा हुने भएको छ । सोमबार राजधानीमा आयोजित प्रेसमिटमा अवार्डबारे जानकारी दिनु का साथमा आगामी भदौ ७ गते थाइल्यान्डमा अवार्ड आयोजना हुने समेत जानकारी हुकुम मल्टिमिडिया अध्यक्ष डीबी बमजनले दिए । अवार्डमा ०७३ सालदेखि ०७५ सालसम्म निर्माण भएका फिल्म र म्युजिक भिडियोले प्रतिस्पर्धा गर्न पाउने छन् । यस कालखण्डमा निर्माण भएका कूल ६३ फिल्मबाट उत्कृष्ट पाँच मनोनयन गरिने छ । साथमा फिल्मतर्फ कूल १६ र सङ्गीततर्फ ११ विधा राखिएको छ ।

घोषणा समारोहमा बोल्दै चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले जनजाति फिल्मको अन्त राष्ट्रियकरण र बजार अभिवृद्धिका लागि अवार्ड कोशेढुंगा हुने बताए । सोही समारोहमा चलचित्र प्राविधिक सङ्घले गर्न लागेको नेफ्टा अवार्डको घोषणा भएको छ । अध्यक्ष पुष्कर लामाले आगामी दसैँदेखि तिहारभित्र विदेशमै अवार्ड गर्ने तयारी भएको जानकारी दिए ।