चलचित्र ‘मिस्टर नेपाली’ को सुटिङ प्याकअप भएको छ । देव भुसालको निर्देशनमा तयार भएको चलचित्रको छायाङ्कन करिब ४५ दिनमा सकिएको निर्माणपक्षले जानकारी दिएको छ । काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी आयोजना गरिएको इन्ड क्ल्याप पार्टीमा सिनेमा तिहारको अवसर पारेर प्रदर्शन गरिने बताइएको छ । लामो समय पछि अभिनयाँमा फर्किएका अभिनेता भुवन केसी चलचित्रमा दोहोरो भूमिकामा छन् । उनले फिल्म करियरमा पहिलो पटक दोहोरो भूमिका निभाएका हुन् । देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको छायाङ्कन नवलपरासी र काठमाडौँमा गरिएको छ ।
चलचित्रमा भुवन केसीका अलावा रीमा विश्वकर्मा, विष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणि नेपाल, रवि डंगोलको साथमा डेव्यु कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । कार्यक्रममा बोल्दै नायक भुवन केसीले चलचित्रको कथावस्तुले व्यवसायिकतासँग राष्ट्रियता पनि बोकेको बताए । साथमा चलचित्रका निर्देशक देव भुसालले सबैको साथ र सहयोगले चलचित्रको छायाङ्कन कुनै अवरोध विना सकिएको र एउटा राम्रो चलचित्र बनाउने प्रयास गरेको बताएका थिए ।