शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा ०७३, ०७४ र ०७५ को 'राष्ट्रिय चलचित्र पुरस्कार' होलसेलमा वितरण गरियो । व्यवस्थापन र अवार्ड दुवैले यो पटक पनि ठुलो विवाद र आलोचना झेल्नु पर्‍यो । राष्ट्रले प्रदान गर्ने गौरवमय सम्मान पनि खल्लो खल्लो त भयो नै कमजोर व्यवस्थापनका कारण कलाकारहरूले अपमान महसुस गरे । यसैबिच अभिनेता सरोज खनालले शौचालयको कमोडमाथि बसेको फोटो फेसबुकबाट सार्वजनिक गरेपछि विवादले अर्को रूप लियो । राष्ट्रिय अवार्ड कार्यक्रममा यस पटक सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको थियो जसमा चिर परिचित कलाकारको प्रस्तुति रहेको थियो । उपस्थित अतिथि र कलाकारहरूले कार्यक्रमलाई मनोरन्जनात्मक नै लिइरहेका थिए भने पर्दा पछाडि बसेर आफ्नो नृत्य गर्ने पालो कुरेर बसेका कलाकारहरूले भने कहिल्यै नबिर्सने तितो अनुभव सँगाल्न बाध्य भएको कुरा बाहिरा आएको छ जसले विवाद अझ बढाइदिएको छ ।

३५ बढी कलाकारलाई सास फेर्नै गाह्रो हुने सानो कोठामा राखिएको र बस्ने ठाउँ नभएर अभिनेता सरोज खनाल ट्वाइलेटमा बसेर पालो कुरेको भन्दै सार्वजनिक गरिएको कमोडमा बसेको तस्बिर केही दिन यता सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । यसले देशलाई नै लज्जित बनाएको भन्दै फिल्मकर्मीले टिप्पणी गरेका छन् । अभिनेता खनालले राष्ट्रपति भवनमा कलाकारको अपमान भएको भन्दै राष्ट्रिय अवार्डमा आफ्नो पहिलो र अन्तिम प्रस्तुति रहेको सञ्चारमाध्यममा अभिव्यक्ति दिएका छन् । यता सोमबार चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गरी उक्त तस्बिर नियोजित रूपमा खिचिएको दाबी गरेको छ ।‘राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटो सेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रूपमै खिचिएको हाम्रो ठहर छ’, चलचित्र सङ्ग्रहालयका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शौचालयमै बस्नुपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्दछ ।’ साथमा सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारलाई कुनै कमीकमजोरी भएको भए बोर्डले क्षमा माग्ने पनि विज्ञप्तिमा उल्लेख छ । 'राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान' को सम्पूर्ण कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको र राष्ट्रपति कार्यालयले कार्यक्रम हल एवम् समय मात्र उपलब्ध गराएका कारण त्यहाँ भएका सबै कार्यको जिम्मेवारी बोर्डको रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।