सौगात मल्ल स्टारर चलचित्र ‘माछा माछा' कार्तिक २९ गते रिलिज हुने भएको छ । मङ्गलवार निर्माण पक्षले चलचित्रको रिलिज मिति तय गर्नुका साथमा फर्स्टलूक पोस्टर पनि सार्वजनिक गरेको छ । सुनिल गुरुङको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा तीन जना गाउँका युवकहरूले आफूलाई सहरमा स्थापित गर्न लागिपरेको सङ्घर्षको कथा रहेको छ । सार्वजनिक पोस्टरमा सौगात, विजय र अनोजको समूह र माओत्से गुरुङको समूह लाई छुट्टा छुट्टै फोकस गरिएको छ साथमा अभिनेत्री नम्रता श्रेष्ठलाई पनि स्थान दिइएको छ ।
प्रवीण खतिवडा, पुष्कर गुरुङ, कमलमणि नेपाल, भोला राज सापकोटा, सरिता गिरी, ध्रुव कोइराला, वसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय छ । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रमा रामबाबु गुरुङ र दयाहाङ राईको लगानी छ । चलचित्रको सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की हुन् भने मणिराम पोखरेल कार्यकारी निर्माता रहेका छन् ।