पछिल्ला केही दिन नेपाली सिने नगरीमा निकै चर्चा परिचर्चा पाएको र धेरैको ध्यान आकर्षणको विषय बन्यो निर्माता छवि राज ओझा र उनकी श्रीमती शिल्पा पोख्रेलको सम्बन्ध र विवाद । तीन वर्षअघि शिल्पा चौथो श्रीमतीको रूपमा निर्माता छविराज ओझाको घर भित्रिएकी थिइन् जुन कुरालाई लामो समय गोप्य राखियो । छ महिना अघि मात्र यो जोडिले विवाह दर्ता गरायो । तर छवि र शिल्पाको घरायसी झगडाले यति बेला ठुलो रूप लिइरहेको छ । छविको कुटाइले आफ्नो कानको जाली फुटेको र पटक पटक यातना दिने गरेको भन्दै शान्ति सुरक्षा पाउँ भनी शिल्पाले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएकी थिइन् । यद्ध्यपी उनीहरूले केही दिन पहिल्यै यस विषयमा सहमति गरिसकेका छन् र शिल्पाले उजुरी फिर्ता पनि लिइन् । तर कुरा यती मै नटुङ्गिने भएको छ ।

५५ वर्षका छवि र २५ वर्षकी शिल्पाको तीन वर्ष लामो वैवाहिक सम्बन्ध अब अगाडि बढ्न नसक्ने स्थितिमा गुज्रिरहेको छ । शिल्पा अब कुनै हालतमा फेरि छविसँग नबस्ने अडानमा छिन् । यतिका वर्ष यातना सहेर आफूले गरेको प्रेम सम्झँदै बसेको तर अब फेरी उही यातना सहन नसक्ने भन्दै शिल्पाले डिभोर्सका लागि केस फाइल गरिसकेको बताएकी छिन् । उता छवि भने शिल्पाकै काखमा प्राण त्याग गर्न चाहने र अदालत धाउनु भन्दा आफूसँग आउन अनुरोध गरिएका अभिव्यक्तिहरू दिइरहेका छन् । सामान्य घर झगडा हुने गरेको भएता पनि आफूले कहिल्यै शङ्का गरेर शिल्पामाथि कुटपिट नगरेको उनको भनाई छ ।