भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हजार जुनीसम्म’को गीतमा भारतीय रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’ मा चौथो स्थान हासिल गर्न सफल भएका आयुष केसीले स्वर दिने भएका छन् । चलचित्रमा अभिनीत बाल कलाकार अनुभव रेग्मीको लागी आयुषले पार्स्व स्वर दिन लागेका हुन् । निर्देशक विकासराज आचार्यका अनुसार फिल्मको टाइटल गीत ‘हजार जुनीसम्म’ मा आयुषले आवाज भर्ने छन् । केही दिन अगाडि चलचित्रको ‘आज नगद भोलि उधारो’ गीत सार्वजनिक भएको थियो, जसमा आर्यनसँग हास्यकलाकार दीपाश्री निरौलाले आइटम नृत्य गरेकी छन् ।

चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, शिवहरी पौडेल, प्रियंका कार्की, संचिता लुइँटेल, अनुभव रेग्मी, अखिलेस प्रधान, सलोन बस्नेतलगायतका कलाकारहरूको अभिनय रहेको छ । सामिप्यराज तिमल्सेनाको पटकथा रहेको चलचित्रमा कविता रेग्मी कार्यकारी निर्माता रहेकी छिन् भने विशाल चाम्लिङ निर्माता रहेका छन् । ‘हजार जुनीसम्म’मा उदयराज सोताङ, राजनराज सिवाकोटी, वसन्त सापकोटा र प्रवीण पौडेलको सङ्गीत, अर्जुन जिसीको सम्पादन छ । आयुषले केही दिन अघि ‘स्व. वासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार’ पाएका थिए ।