मधेस अभियन्ता डा. सिके राउतको जीवनीमाथि चलचित्र बन्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको औपचारिक निर्माण घोषणासँगै निर्माण टिमले टीजर पनि सार्वजनिक गरिएको छ । चलचित्र निर्माण घोषणा कार्यक्रममा सिके राउत स्वयं उपस्थिति भएका थिए । सिके राउतको भूमिका भोजपुरी चलचित्रका परिचित अभिनेता परदेशी शाहले निर्वाह गर्नेछन् । ‘डा. सिके राउत’ नाम जुराइएको चलचित्रलाई भोजपुरी फिल्म निर्देशक सन्तोष शाहले निर्देशन गर्दै छन् । नेपाली, भोजपुरी र हिन्दी भाषामा निर्माण हुने चलचित्र वीरगन्ज, जनकपुर, काठमाडौँलगायतका स्थानमा छायाङ्कन गरिने छ । चलचित्रमा पुकार भट्टराई, ध्रुव कोइराला, विशाल पहारी, किरण थापा, राजीव कर्णलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ भने अभिनेत्री को हुनेछिन् टुङ्गो नलागेको निर्माण पक्षको भनाइ छ ।

सिके राउतको जीवनीमाथि चलचित्र बन्दै

भदौबाट छायाङ्कन सुरु हुने चलचित्र आउँदो छठ पर्वमा रिलिज गर्ने तयारी निर्माण टिमको छ । रेवन्त विक्रम थापाको द्वन्द्व निर्देशन रहने चलचित्रलाई कमर्शियल बनाउन सिके राउतको जीवनको ५० प्रतिशत र बाँकी ५० प्रतिशत काल्पनिक कथा जोडिने बताइएको छ । अभिनेता शाहले चलचित्रमा सिके राउतको भूमिका निर्वाह गर्न पाउनु आफ्नो लागि ठुलो अवसर र चुनौती रहेको बताएका छन् । एउटा मान्छे किन विद्रोहमा उत्रिन्छ भन्ने कुरा सिनेमामा देखाइने सिके राउतको भनाई छ । साथमा चलचित्र कमर्शियल बनाउन केही काल्पनिक दृश्यहरू पनि जोडिनेछ जसलाई उनले सिनेमालाई सिनेमाकै रूपमा बुझ्न आग्रह गरेका छन् । ।