यो हप्ता अभिनेता अर्पण थापाको निर्देशनमा बनेको हरर चलचित्र 'घर' प्रदर्शन भइरहेको छ । शुक्रवारदेखि देश व्यापी रूपमा प्रदर्शनमा आएको 'घर' दर्शकलाई चलचित्रको फरक स्वाद चखाउने चलचित्र हो । नेपालमा कमै बन्ने गरेको हरर जानराको यस चलचित्र निर्माण गर्नु अघि अर्पणले हरर चलचित्र 'सुनकेसारी' ल्याएका थिए तर उक्त चलचित्रले दर्शकलाई तर्साएर मन जित्न सकेन । पुन उही जानराको फिल्म लिएर आएका अर्पण यसबाट भने पूर्ण रूपमा आशावादी छन् । 'घर'मा मृत आत्माले लिएको बदलाको कथा रहेको छ ।

चलचित्रमा अर्पणसँगै सुरक्षा पन्त र बेनिशा हमाल, अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ । शर्मिला पाण्डे र दीपेन्द्र के. खनाल निर्माता रहेको 'घर'को ट्रेलरले दर्शकलाई आशावादी बनाएको छ । सुरज पाण्डे प्रस्तुत कर्ता रहेको चलचित्रलाई नीरज कँडेलले खिचेका हुन् । साथमा अघिल्लो हप्ताबाट प्रदर्शनमा आएको चलचित्र ‘सानो मन’ ले शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गरेको छ । बिहिबार कलाकारहरुको उपस्थितिमा विशेष सो आयोजना गरिएको 'सानो मन' लाई राम्रो प्रतिकृया मिलिरहेको छ ।