अघिल्लो हप्ताबाट प्रदर्शनमा आएको चलचित्र ‘सानो मन’ ले शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गरेको छ । चलचित्रको बिहीबार कलाकारहरूको उपस्थितिमा विशेष सो आयोजना गरिएको थियो । जसमा चलचित्रलाई राम्रो पतिकृया पनि मिल्यो । प्रदर्शनको पहिलो हप्ता बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न नसके 'सानो मन'लाई दर्शकले पनि सकारात्मक प्रतिक्रिया नै दिइरहेका छन् । बिहीबार साँझ राजधानीको क्यूज सिनेमा हलमा नेपाली चलचित्रका जल्दा बल्दा कलाकारहरूले 'सानो मन'लाई ठुलो मनले प्रशंसा गरे । निर्देशक, छायाँकार र कलाकारको कामको दर्शक र फिल्मकर्मी सबैले तारिफ गरेपछी निर्माण पक्षले ठुलो सफलता हात पारेको महसुस गरेको छ । चलचित्र हेर्न दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, नम्रता श्रेष्ठ, केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी, अर्जुन घिमिरे 'पाँडे', कुमार कट्टेल 'जिग्री' लगायत पुगेका थिए । चलचित्र हेरिसकेपछी आफ्नो अनुभव साँट्ने कार्यक्रममा कलाकारहरूले आफूलाई निकै छोएको र कलाकारको काम उत्कृष्ट भएको बताएका छन् ।
'नेपाली फिल्म यस्तो भइदियोस् भन्ने दर्शकहरूले जुन अपेक्षा राख्नुभएको छ त्यो यो फिल्मले पूरा गर्छ' सम्मका प्रतिक्रिया चलचित्रले पायो । 'सफ्ट' लभ स्टोरी भएको 'सानो मन' लभ स्टोरी मन पर्ने दर्शकलाई निराश नबनाउने दाबी दीपकराज गिरिले गरे ।चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । ओ.पी.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के .मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् । सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् भने समीर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ ।