शुक्रवारदेखि हलहरूमा हरर फिल्म ‘घर’ प्रदर्शनमा आएको छ । हरर जानराको फिल्म ‘सुनकेसरी’ पछि अर्पण थापाले 'घर' निर्देशन गरेका हुन् । पन्त, वेनिशा हमाल र निर्देशक थापाकै मुख्य भूमिका रहेको चलचित्र प्रेस शोमा रुचाइएको थियो भने चलचित्रकी अभिनेत्री सुरक्षा पन्त आफैँ चलचित्र हेरेर काँप्दै हलबाट बाहिरिएकी थिइन् । शोमा उपस्थित अतिथि सबैले चलचित्रले आफूलाई तर्साएको बताएका थिए । यसै गरी हिजो शुक्रवार पहिलो दिनको शोमा सन्तोषजनक दर्शकको साथ पाएको चलचित्रले दोस्रो दिन उत्साहजनक व्यापार गर्न सफल भएको छ ।

चलचित्र हेरिसकेका दर्शकले चलचित्रले आफूलाई तर्साएको र चलचित्रमा गरेको मिहिनेत देखिएको बताएका छन् । दोस्रो दिन शनिवारको व्यापार अपेक्षकृत नै हुने र चलचित्र लामो रेसको घोडा बन्न सक्ने नसक्ने भोलिबाट दर्शकले दिने साथले निर्देशित गर्नेछ । निर्देशक थापाको समेत अभिनय रहेको फिल्म घरमा नायिकाद्वय सुरक्षा पन्त र बेनिशा हमालको मुख्य भूमिका छ । साथमा अस्मिता खनाल, सरोज अर्याल, श्रृष्ट्रि महर्जन, विकाश खनाल लगायत कलाकारको अभिनय रहेको छ । शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा सन्तोष अधिकारी सह निर्माता रहेका छन् ।