लहरो तान्दा पहरो थर्किन्छ, भन्नेहरूले त्यसै कहाँ भनेका होलान् र ? यति बेला निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलको जीवनमा यस्तै भइरहेको छ । केही समय अघि छविकी चौथी श्रीमती शिल्पा पोखरेलले छवि विरुद्ध धरेलु हिंसाको मुद्दा दर्ता गराएकी थिइन् भने जिल्ला अदालतमा डिभोर्स फाइल पनि दर्ता गरिन् । तर एकातिर शिप्लालाई छोड्न सक्दिन भन्ने छवि र अर्को तर्फ कुनै हालतमा सँगै बस्न सक्दिन भन्ने शिल्पाको अभिव्यक्तिले मिडियामा राम्रै ठाउँ ओगटिरहेको छ । तर यति बेला कथाले अर्कै मोड लिएको छ । छवि ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान् छविराज ओझा र छविराजकी कान्छी श्रीमती शिल्पा पोखरेल विरुद्ध बहुविवाहको मुद्दा चलाएकी छिन् ।
हेमाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा श्रीमान् ओझा र पोख्रेल विरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी हुन् । पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान् र कान्छी श्रीमती शिल्पा विरुद्ध बहुविवाहको मुद्दा हालेको हेमाले निवेदनमा खुलाएकी छिन् । हेमा र छविका दुई छोरा समेत रहेका छन् । हेमाले बहुविवाहको मुद्दा दायर गरेसँगै छवि शिल्पाको लफडाले अर्को नयाँ मोड लिएको छ । अब पारिवारिक झमेलामा परेका छवि र शिल्पाको यात्रा कता तर्फ मोडिन्छ त्यो भने हेर्न बाँकी नै छ ।