चलचित्र 'लुट' लगायत दसौँ चलचित्र निर्माण गरिसकेका निर्माता माधव वाग्ले निर्देशकको रूपमा डेब्यु गर्ने भएका छन् । पछिल्लो समय चलचित्र ‘चङ्गा चेट’ निर्माण गरेका उनले निर्माता सधैँ मुर्गा मात्र हुने तर फाइदा कलाकार र निर्देशकलाई हुने साथै ‘मिडियाले पनि कलाकार निर्देशकलाई मात्र स्थान दिने भएकाले पनि निर्देशनमा हात हालेको उनले मिडिया सामु बताएका छन् । वाग्लेले भने–‘चलचित्रमा एउटा निर्माताले आफ्नो सबै लगानी लगाउँछ । तर, चलचित्रमा निर्देशक र कलाकार मात्र हाबी हुन्छन् । निर्माता जहिले पछि पर्छन् ।’ यति बेला चलचित्रको स्क्रिप्टमा काम भइरहेको र दसैँपछि फिल्मको घोषणा गरेर फ्लोरमा निस्कने उनको तयारी रहेको बुझिएको छ । चाँडै चलचित्रको नाम सार्वजनिक गर्ने बताउँदै एक दशकदेखि निर्माताको रूपमा बटुलेको अनुभवबाट फिल्म निर्देशन गर्न लागेको र राम्रो चलचित्र बनाउन आफूले हदैसम्म मेहनत गर्ने उनले अडान लिएका छन् । वाग्लेका अनुसार नाम र स्क्रिप्ट फाइनल भएपछि कलाकार छनोट प्रक्रिया सुरु हुने छ ।

नाम क्रेडिटको लोभले चलचित्र निर्देशनको काममा हात हालेर पछुताउनेको सङ्ख्या पनि पछिल्लो समय कम त छैन तर लामो समयसम्म चलचित्रलाई नजिक बाट बुझेर दर्शकको नाडी छामेकाले भने मनबाट काम गरेपछी पछाडि फर्केर हेर्नु नपर्ने पनि हुन सक्छ ।