रमित ढुङ्गाना केही समय अघि नेपाली फिल्म जगतमा दर्शकले रुचाएका र हात खाली बस्नु नपरेको अभिनेताको नाम हो । केही वर्ष गुमनाम भएको यो नामले फेरी चलचित्रमा पुनरागमन गर्ने भएको छ । बिचल किराँतीको लेखन तथा निर्देशन रहेको चलचित्र 'राजा साहेब'बाट उनी पुन: अभिनयमा फर्किएका हुन् । सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । कार्यक्रममा रमित चलचित्रको प्रचार प्रसारका पुराना दिन सम्झेर भावुक भए । साथै सोमबार नै कोटेश्वरको महादेव मन्दिरमा फिल्मको शुभ मुहूर्त पनि गरिएको छ । चलचित्रमा रमित ढुङ्गाना मुख्य भूमिकामा प्रस्तुत हुँदै छन् ।

रमितासँगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जन लगायतको मुख्य भूमिका रहने छ । साथमा दुई नव नायिका सोनिका केसी र आइशा राईले डेब्यु गर्दै छन् । ‘किराँती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त ब्यानरमा बन्ने चलचित्रमा शङ्कर न्यौपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा रहेका छन् । चन्द्र लामा, ज्याक सुब्बा र भीम कार्की निर्माताको रूपमा रहेका छन् भने चलचित्र पवन गौतमले खिच्नेछन् । आगामी तिहारमा प्रदर्शनमा ल्याउने तयारी गरिएको 'राजा साहेब'को यसै हप्ताबाट छायाङ्कन सुरु हुनेछ ।