गायक आर्जन पाण्डेको फरक शैलीको गीत 'घाँटी भन्दा तल' सार्वजनिक भएको छ । प्रतीक पौडेलको शब्द, सङ्गीत रहेको गीतको म्युजिक भिडियोमा गायक पाण्डे स्वयंले अभिनय गरेका छन् भने उनलाई अभिनेत्री रिमा विश्वकर्माले साथ दिएकी छिन् । गीत मात्र नभएर गीतको भिडियो पनि रोचक र फरक शैलीको रहेको छ जसमा गायक पाण्डे भिडियो गेम खेल्दा खेल्दै उक्त भर्चुअल दुनियाँमा प्रवेश गर्छन् र त्यहाँ विकसित भएका घटना क्रमलाई भिडियोमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोलाई एस्ट्रो झोलेले निर्देशन गरेका हुन् भने छायाङ्कन तथा सम्पादन पनि उनी आफैले गरेका हुन् । अघिल्लो वर्ष गायिका इन्दिरा जोशीसँगको युगल गीत ‘रेलिमाइ’ को सफलतापछि उत्साहित भएका गायक पाण्डेको गायिका मेलिना राईसँग गाएको ‘झिमिक्कै परेली’ लाई पनि दर्शक तथा श्रोताले मन पराएका थिए ।

‘घाँटी भन्दा तल’ गीत पप तथा ज्याज शैलीमा आधारित छ । गायक पाण्डेका अनुसार भिडियोलाई रोचक बनाउन केही ट्रिकहरु प्रयोग गरिएको छ जसले गर्दा भिडियो युवापुस्ताको रोजाइमा पर्न सक्ने अनुमान गरेका छन् । गीत भिडियोसहित आर्जनकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।