केही दिन अघि रिलिज भएको चलचित्र 'कबड्डी कबड्डी कबड्डी'को गीत ‘दुबो फुल्यो’माथि सङ्गीत चोरीको आरोप लागेको थियो । जुन आरोपको विवाद यति बेला टुङ्गिएको छ । गीत सार्वजनिक भए पछि सङ्गीतकार आलोक श्रीले आफ्नो गीत ‘कहिले फोटो सिरानीमा’को सङ्गीतसँग ‘दुबो फुल्यो’को सङ्गीत मिलेको भन्दै मिडिया सामु आएका थिए । अन्ततः सङ्गीतकार आलोक श्री, ‘दुबो फुल्यो’का सङ्गीतकार एसडी योगी र चलचित्र 'कबड्डी कबड्डी कबड्डी'का निर्देशक रामबाबु गुरुङको बिचमा भएको छलफल पश्चात् ‘गीतको सङ्गीत मिल्नु संयोग’ भएको भन्दै विवादको अन्त्य भएको छ । गीतको केही अंश कहिले फोटो सिरानीमा सँग मिल्न गएकोमा दुवै सङ्गीतकारले त्यसलाई संयोग मानेर आपसी समझदारी गरेका हुन् । सङ्गीतकार आलोक श्रीले क्षति पूर्ति स्वरूप केही रकम माग गरेको भन्ने हल्ला आए पनि निर्देशक गुरुङले कुनै पनि खालको लेनदेनको कुरा नभएको बताएका छन् । आलोकले पनि यसलाई ‘संयोग’ मान्दै आपसी समझदारी गरेको र कुनै पनि लेनदेनको कुरा नभएको प्रस्ट पारेका छन् । आइन्दा गीतको विषयमा कुनै पनि विवाद नगर्ने सहमति पनि भएको बताइएको छ ।