शुक्रवारबाट हलमा दुई चकचित्र ‘सुपर गोर्खे’ र ‘एकलव्य’ प्रदर्शनमा आएका छन् । वर्षको सुरुवाती दिनमा केही चलचित्रले राम्रो व्यापार गरे पनि केही समय अघि ५१औँ दिन मनाउन सफल चलचित्र 'जात्रै जात्रा' पछि प्रदर्शनमा आएका चलचित्रले लगानी त परको कुरा प्रचारप्रसार खर्च उठाउन पनि सके सकेनन् भन्नेमा शङ्का नै छ । यो हप्ता पनि प्रदर्शनमा आएका दुई चलचित्र सिङ्गल थिएटर लक्षित चलचित्र हुन् र मल्टिप्लेक्सहरुमा कुनै पनि सोज पाउन सकेका छैनन् । 'सुपर गोर्खे' ‘नाइँ नभन्नू ल’ बाट चर्चामा आएकी अभिनेत्री ऋचासिंह ठकुरीको कमब्याक चलचित्र हो । उनकै श्रीमान् राज थापा (गजेन्द्र) ले निर्माण र निर्देशन गरेको चलचित्रमा सुरज सिंह ठकुरी, निराजन लुइँटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको अभिनय रहेको छ । ईश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी रहेको चलचित्रको बिहीबार प्रियिमर आयोजना गरिएको थियो जसमा औसत प्रतिक्रिया मिलेको थियो । 

 

साथमा अनमोल शर्माले निर्देशन गरेको पारिवारिक प्रेमकथामा आधारित बताइएको चलचित्र ‘एकलव्य’ पनि प्रदर्शनमा आएको हो । यस चलचित्रले पनि मल्टिप्लेक्समा कुनै सोज पाएको छैन । ‘एकलव्य’मा सोनाम थापामगर, ओसन भट्टराई, पुष्कर राउत, सुशील पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुलगायत कलाकारको अभिनय रहेको छ । राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेको चलचित्रलाई भोजराज देवकोटाको पटकथा तथा संवाद, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, राजेन्द्र बजगाईँको गीत सङ्गीत तथा कृष्ण श्रेष्ठको छायाङ्कन, अर्जुन जिसीको सम्पादन रहेको छ । यसै गरी अर्पण थापा निर्देशित सुरक्षाअ पन्त र बेनिशा हमालको मुख्य भूमिका रहेको हरर फिल्म 'घर' दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ ।