साउन ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हजार जुनीसम्म’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आर्यन सिग्देल, स्वस्तिमा खड्का र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा मुख्य अभिनेता आर्यन सिग्देललाई प्रेममा आफ्नो जीवन समर्पण गर्ने प्रेमीको रूपमा प्रस्तुत गरिएको छ । यसै गरी स्वस्तिमालाई पनि भिन्न अवतारमा देख्न सकिन्छ । विकास राज आचार्यको निर्देशनमा निर्माण भएको चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेतका अलावा सञ्चिता लुइँटेल, शिवहरि पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।
यस चलचित्र एबीसी एण्ड एआरसी ग्राण्डसन फिल्मस् र माता पाथीभरा फिल्मस्को ब्यानरमा निर्माण भएको हो भने विशाल चाम्लिङको कथा, निर्देशक आचार्य र सामीप्यराज तिमिसेनाको पटकथा तथा संवाद रहेको छ । साथै ‘हजार जुनीसम्म'मा पुरुषोत्तम प्रधानको छायाङ्कन, राजनराज सिवाकोटी, उदय सोताङ, वसन्त सापकोटा र प्रवीण पौडेलको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ । बलिउडको प्रतीक्षित चलचित्र 'साहो'का कारण चलचित्रको रिलिज मिति तल माथि भएता पनि पुन: पहिल्यै तोकिएको मिति अर्थात् साउन ३० मा नै प्रदर्शनमा आउन लागेको हो ।