पछिल्लो समय नेपाली नायिकाहरूको पारिश्रमिक को कुरालाई लिएर फिल्म वृत्तमा निकै चर्चा परिचर्चा चलिरहेको छ ।  केही समय अघि नेपाली फिल्म निर्माताले नायकको तुलनामा नायिकालाई निकै नै कम पारिश्रमिक दिने र नायिकाको कामलाई सम्मान नदिने कुरामा निकै नै बहस चलेको थियो । अहिले आएर नेपाली नायिकाहरू पनि आफूले गरेको काम र मिहिनेत को सम्मान र उचित मूल्याङ्कन हुनुपर्छ भन्नेमा सचेत हुन थालेका छन् । केही समय पहिले नायिका पूजा शर्माले चलचित्र 'पोइ पर्‍यो काले'को लागी २० लाख पारिश्रमिक लिएको कुरालाई धेरैले राम्रो सकारात्मक नै लिए भने घाँटी हेरेर हाड निल्नुपर्ने सुझाव दिनेको सङ्ख्या पनि कमी थिएन । यसै बिच नायिकाहरू स्वयम् पनि यसको विरोधमा उत्रिए भने आफ्नो काममा मूल्य तोक्ने अधिकार आफैमा हुने प्रतिक्रिया पनि आयो । चलचित्रको पारिश्रमिकको नै कुरा गर्नु पर्दा नेपाली चलचित्र विश्व बजार अनुसार हेर्ने हो भने निकै सीमित खर्चमा अनि सीमित श्रोत साधनमा बनेका हुन्छन् । नेपाली निर्माताहरू पनि निश्चित बजेटमा आएका हुन्छन् । यसको कारण लगानी नभएर भने पक्कै होइन बरु चलचित्रको बजार हो । किनकि नेपाली चलचित्रको बजार भनेको निकै नै सीमित छ । दर्शक सीमित छन् र चलचित्रको पहुँच कम छ । यस्तो अवस्थामा हरेक निर्माताले चुनौती मोलेर नै चलचित्र बनाएका हुन्छन् । कुरा आयो कलाकारको पारिश्रमिक को । एउटा चलचित्र राम्रो बन्न र दर्शकले मन पराउनको लागी चलचित्रमा अभिनय गर्ने कलाकारको मुख्य भूमिका हुन्छ । सफल चलचित्रको पछाडि कलाकारको तपस्या अनि मिहिनेत र लगाव उति नै आवश्यक छ ।

यसै बिच एउटा कलाकारको काम र समयको सही मूल्याङ्कन हुने हो भने उसले चलचित्र प्रति निभाउने जिम्मेवारी पनि बढ्नु स्वाभाविक नै हो । आफूलाई आफ्नो काम अनुसार पैसा तिरिएको छ भने कलाकारको काम प्रतिको लगाव बढ्नु सामान्य नै हो । तर एउटा कलाकारले आफूले चलचित्रलाई दिन सक्ने र आफूले गरेको कामले चलचित्रमा कति फरक पारेको छ भन्ने कुरा बुझ्नु निकै नै महत्त्वपूर्ण हुन सक्छ । केही दिन यता कलाकारको पारिश्रमिकको कुरा एकाएक उठेको छ । नायिका पूजा शर्माले आफ्नो आगामी चलचित्रको लागी २० लाख पारिश्रमिक लिएर अनुबन्धित भएको खबरसँगै चलचित्र जगतमा एउटा तरङ्ग फैलिएको छ । पछिल्लो समय प्रदर्शनमा आएका चलचित्रहरूले आफ्नो लगानी समेत उठाउन नसकिरहेको अवस्था देखिइरहेको छ । समग्रमा हप्तै पिच्छे दुई चलचित्र रिलिज भइरहेका हुन्छन् । तर एकाध बाहेकले हलमा एक हप्ताको यात्रा पनि सहजै पार गर्न सक्दैनन् । नेपाली चलचित्रको यस नाजुक स्थितिमा चलचित्रमा लगानी गर्नेको मनमा साहस र ऊर्जा थप्ने भनेकै कलाकारले हो । किनकि कलाकार भनेका चलचित्रका खाँबो हुन् जसले चलचित्रलाई बचाउँछन् । यिनै कलाकार आफ्नो कला बेचेर बाँच्ने पनि हुन र त कलाको अवमूल्यन गरिनु घातक नै हुन्छ । चलचित्रको बजेट यसको बजार र सम्भावित व्यापार नसोची कुनै पनि कलाकार अझ कलाकारलाई पैसा तिर्ने निर्माताले हात अगाडी बढाउँदैन बाँकी भनेको संयोगको कुरा । यसैबिच पारिश्रमिकको कुरालाई लिएर विभिन्न कलाकारले आफ्नो विचार व्यक्त गरिरहेका छन् । कसैलाई व्यक्तिगत कुरा लाग्ला र छोडिदेलान् कसैलाई साझा विषय लाग्ला र आफ्नो विचार राख्छन् ।

यसै विषयमा अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो विचार राखेकी छिन् जुन पछिल्लो समय निकै चर्चामा आइरहेको छ । पारिश्रमिकको विषयमा प्रश्न गर्दा उनले ‘म मेरो पारिश्रमिक कहिले खुलाउँदिन । जसले खुलाउनु हुन्छ उहाहरुको हिम्मतलाई म सलाम गर्छु । तर कुनै कलाकारले यदि २० लाख पारिश्रमिक लिनुहुन्छ भने ५० लाख बराबरको दर्शक हलसम्म ल्याउन सक्नुपर्छ’ भनेकी छिन् । यस विचारको आशयलाई जसरी पनि लिन सकिन्छ तर साँच्चै भन्नु पर्दा स्वस्तिमाको यस विचारले निकै गहिरो भाव बोकेको छ । किनकि सङ्कटकालीन स्थितिमा गुज्रिरहेको नेपाली फिल्म इन्डस्ट्रीमा एउटा कलाकारले आफूले काम गर्दा लिएको पारिश्रमिक अनुसारको देन चलचित्रलाई दिएका छन् त भन्ने गम्भीर प्रश्न उब्जाएको छ । कलाकारले मेरो गोरुको बाह्रै टक्का गरिरहँदा चलचित्रले उनीहरूबाट कति लाभ उठाउन सफल भएको छ भन्ने विषय महत्त्वपूर्ण हो । यद्यपि पारिश्रमिकको विषय उठिरहँदा र यस विषयमा विचार राखिरहँदा मनमा उठिरहने अर्को प्रश्न भनेको किन अभिनेता, नायकहरूको पारिश्रमिकको विषय अगाडी आउँदैनन्? कि उनीहरूलाई यसको महत्त्व नलाग्ने हो या हामीले नै नायिका भनेका काम अरूले भने अनुसार नै गर्ने अनि पारिश्रमिक पनि उनीहरूले जति हातमा राखिदिन्छन् त्यही स्वीकार गर्ने हुन् भन्ने मानसिकता बनाएका छौँ ? आफूले काम गरेपछी नायक सरह आफ्नो रेट तोक्ने अधिकार त नायिकाहरूमा नि रहन्छ होइन र ?