कलाकारिता र अभिनयबाट सामाजिक कार्यमा होमिएका धुर्मुस सुन्तलीको जोडी फेरी कलाकारिताको दुनियाँमा फर्किन लागेको छ । केही समय अघि नै यो जोडिले चलचित्र निर्माण गर्ने घोषणा गरेका थिए । एकातिर क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अर्को तिर चलचित्र निर्माणको योजनाले गर्दा काम उनीहरूले सोचे अनुरूप हुन सकिरहेको थिएन । केही अघि नाम समेत जुराइसकेका उनीहरूले निर्माण गर्ने चलचित्रको नाम फेर्दै निर्माणको कामलाई चुस्त बनाउन लागेका हुन् । स्क्रिप्टमा काम भइरहँदा चलचित्रको नाम ‘एन्टी-भाइरस’ जुरेको थियो तर ज्योतिषको सल्लाह अनुसार ‘एन्टी-भाइरस’ लाई परिवर्तन गरेर ‘सेन्टी–भाइरस’ बनाइएको थियो र अन्ततः यति बेला चलचित्रको नाम ‘छल-कपट’मा आएर टुङ्गिएको छ । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्ने भएका छन् भने भाद्र १३ मा रामबाबु निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज भएपछि ‘छल-कपट’ को छायाङ्कन सुरु हुने बताइएको छ । कमेडी जनरामा निर्माण हुने चलचित्रमा धुर्मुस-सुन्तली तथा दयाहाङ राईको मुख्य भूमिका रहने बुझिएको छ ।