पछिल्लो समय माया प्रेमका गीत अनि नयाँ गीत रिलिज हुने बित्तिकै दिमागमा आउने नाम हो गायिका मेलिना राई । दिनहुँ चार पाँच वटा गीतसम्म रेकर्ड गराउने मेलिना घरी म्युजिक भिडियोको छायाङ्कनमा पुग्छिन् भने घरी सार्वजनिक कार्यक्रममा । उनले पछिल्लो समय कमाएको चर्चा र दर्शकको माया लोभ लाग्दो नै छ । माया प्रेमका गीत गाएर मनको भावनालाई जागरूक गराउने यी गायिका आफ्नो प्रेम जीवन बारे सधैँ मौन रहने गर्छिन् । यति बेला मेलिनाको प्रेमको विषयलाई लिएर नेपाली सङ्गीतको बजारमा गाईगुईँ सुनिन थालेको छ । केही दिन अघि मेलिनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लाइफ इभेन्ट सेयर गर्दै सम्बन्धमा रहेको खुलाएकी थिइन् जसलाई उनले केही समयमा नै डिलिट गरेकी थिइन् । उनलाई यस विषयमा गरिने प्रश्नले हैरान बनाएको आभास हुन्छ र त प्रेम को विषय आउनासाथ उनी तर्किने गर्छिन् ।

मिडियामा भने उनी गायक समीर लिम्बुसँग प्रेम सम्बन्धमा रहेको भनिरहेका छन् । यो विषयले भने मेलिनाले खुलेर जवाफ दिन चाहेकी छैनन् । शनिवार गीत 'कसरी कसरी २'को छायाङ्कनमा पुगेकी मेलिनाले मिडिया सामु कुनै पनि मिडियालाई यो विषयमा प्रश्न नगर्न आग्रह गरेकी छिन् । मेलिनाको यो आग्रहमा एउटा कलाकारको व्यक्तिगत जीवनको अधिकारको कुरा आउँछ तर यति बेला गायक समिरसँगको सम्बन्धमा होलिन् नहोलिन् तर उनी प्रेममा भएको कुरा उनले इन्कार गरेका प्रश्नबाट अनुमान गर्न सकिन्छ ।