चलचित्रको प्रमोसन गर्नु र यसबिच केही सस्पेन्स सृजना गर्नु चलचित्रका निर्माण पक्षको ठुलो चाल हुने गर्छ । कतिपय चलचित्रको कथाले सस्पेन्स माग्छ त कतिको कथा खुल्ला हुन्छ जसलाई जुन कुनाबाट हेरेपनी फरक पर्दैन । गत शुक्रवार चलचित्र 'हजार जुनीसम्म'को ट्रेलर रिलिज गरियो । रिलिज कार्यक्रममा चलचित्रका प्राय कलाकार उपस्थित थिए । चलचित्रको ट्रेलरमा पनि प्राय कलाकारलाई स्थान दिइएको थियो । तर कार्यक्रम र ट्रेलरमा छुटेको एउटै अनुहार थियो प्रियंका कार्कीको । चलचित्रमा प्रियंका मुख्य भूमिकामा रहेकी छिन् तर उनी न कार्यक्रममा अटाइन् न ट्रेलर लगायत प्रचारप्रसार सामाग्रीमा । हजार जुनीसम्मको प्रोमोमा किन देखाइएन त प्रियंकालाई ?भन्ने जिज्ञासामा ‘फिल्मको विषय अनुसार सस्पेन्स सृजना गर्न खोजेका छौँ’ भन्ने जवाफ लेखक सामीप्यराज तिमल्सेनाले दिए ।

साथमा तिमल्सेनाले दिपाश्री र प्रियंका अतिथि कलाकार भएकाले पनि प्रोमोमा स्थान नदिइएको र प्रेसमिटमा पनि निमन्त्रणा नगरिएको दाबी गरे । उनले प्रियंकाको क्रेज खस्किएका कारण फिल्मको पोस्टर र ट्रेलरमा लुकाएको आरोपको भने खण्डन गरे । कन्टेन्टमा केही लुकाउनु पर्ने भएकाले उनलाई लुकाइएको दाबी समेत गरे । हेर्ने हो भने आइटम गीतको प्रस्तुतिमा देखिएको दीपा भने ट्रेलरमा अटाएकी छिन् जहाँ प्रियंका छुटेकी छिन् ।