आगामी भदौ १३ गते रिलिज हुने भनिएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले रिलिज मिति परिवर्तन गरेको छ । तीन साता पछाडि सार्दै असोजको ३ गतेलाई नयाँ रिलिज मिति तोकिएको हो । चलचित्रको प्राविधिक काम नसकिने भन्दै मिति सारिएको निर्देशक रामबाबु गुरुङले बताएका छन् । यस विषयमा गुरुङले फोन गरेर काम नभ्याउने जानकारी दिएको र थप कुरा हुन बाँकी रहेको वितरक मनोज राठीले बताएका छन् । भदौ १३मा ‘कबड्डी कबड्डी कबड्डी’ले नेपाली चलचित्र ‘मारूनी’ र प्रभास स्टारर साउथ इन्डियन चलचित्र ‘साहो’सँग भिड्नु पर्ने थियो तर अब भने नेपाली कथानक चलचित्र ‘लभ डायरिज’सँग मात्र प्रतिस्पर्धा हुनेछ ।

‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विजय बराल, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ । यता असोज ३ गते चलचित्र ‘छ माया छपक्कै’ रिलिज गर्ने कुरा भइरहेको थियो जसको लागी चलचित्र ‘घामट शेरे’ तिहारमा सारिएको थियो । तर, अब भने ‘कबड्डी कबड्डी कबड्डी’ आउने भएपछि ‘छ माया छपक्कै’ले यही विकल्प सोच्ने कि प्रतिस्पर्धामा उत्रने सोच्नु पर्ने भएको छ ।