एक समय यस्तो थियो जुन बेला बिराज भट्ट भन्ने बित्तिकै मनमस्तिकमा एक्सन आइहाल्थो । करिब पाँच वर्ष अघि सम्म बिराज अभिनित प्राय चलचित्रहरु हिट हुने गर्दथे ।  बिराजले नेपाली चलचित्रको एउटा कालखण्डमा राज नै गरे । उनले झन्डै १० वर्ष चलचित्रमा काम गरे । तर, बिचमा उनी नेपाली सिने नगरीबाट टाढा भए । उनी नेपाली चलचित्र भन्दा बढी भोजपुरी चलचित्रमा व्यस्त भए । एक पछि अर्को गर्दै सफल भोजपुरि चलचित्र दिएका बिराज यति बेला त्यहाँका एक परिचित अभिनेताको रूपमा चर्चित भइसकेका छन् । 

बिराजले एक पत्रिकामा दिएको अन्तवार्तामा नेपालका कलाकारमा अझै स्टारडमको खाँचो रहेको बताएका छन् । ‘चलचित्र राम्रो बनाउने प्रयास भइरहेको छ । कति चलचित्रहरु राम्रो पनि बनिरहेको छ । तर नेपालमा एकदमै क्रेज भएका नायकको कमी छ । पछिल्लो समय अनमोल केसी राम्रोसँग चलचित्रमा बेचिए पनि हिरोकै लागी सिनेमा हेर्न जानी भन्ने कलाकार नै छैनन् ।’ आफ्नो बेलामा एकदम कमजोर चलचित्र भए पनि लगानी उठाएको उनले बताए । 

५० वटा भन्दा बढी भोजपुरी चलचित्रमा काम गरिसकेका बिराजले आफू बलिउडमा जाने सम्भावना प्रबल रहेको बताएका छन् । उनले सोही अन्तवार्तामा बलिउडमा अहिले जान चाहे पनि आफ्नो लागी राम्रो भूमिका पाउने दाबी गरेका थिए । आफ्नो कमजोरीको कारण बलिउडमा अहिले प्रयास नगरेको र अब प्रयास तर्फ चाँडै नै लाग्ने उनले बताए ।