हरेक चलचित्र निर्माता, निर्देशक अनि कलाकारलाई आफ्नो चलचित्र सफल होओस् अनि दर्शक अनि समीक्षकले प्रशंसा गरुन् भन्ने लाग्नु सामान्य नै हो । आफूले मिहिनेत गरेर बनाएको चलचित्र चलेर लगानी सुरक्षित मात्र होइन मालामाल कमाइ गरेर बक्स अफिसमा रेकर्ड समेत तोड्न पाए स्वाद आउँथ्यो भन्ने सोच्नु गलत होइन । तर दर्शकले हेर्ने भनेको त चलचित्रमा गरिएको मिहिनेत, काम अनि फरक स्वाद हो ।
बुधवार राजधानीमा एक कार्यक्रमबिच चलचित्र 'लक्का जवान'को निर्माण घोषणा भयो । चलचित्रलाई टेलिशृङ्खला निर्देशन गरेका कलाकार शिवहरि पौडेलले निर्देशन गर्दै छन् । उनको यो डेब्यु चलचित्र निर्देशन हो । हास्य सिरियल ‘जिरे खुर्सानी’ निर्देशन गरेर त्यसबाट दर्शकको प्रशस्त माया पाएका उनी ठुलो पर्दामा हात हाल्दै गर्दा केही सजग देखिन्छन् । यसैबिच कार्यक्रममा बोल्दै गर्दा उनले मिडियालाई लक्षित गर्दै हतारमा आफ्नो चलचित्रको बारेमा नलेखिदिन र प्रचार नगरिदिन आग्रह गरे । उनले थप्दै कति दुख गरेर बनाएको चलचित्रलाई झुर हेर्नै नपर्ने भनेर प्रचार गरिँदा समस्त चलचित्र क्षेत्रमा नै हानी पुग्ने बताए । उनका अनुसार चलचित्रमा कमजोरी भए बजारमा हल्ला गर्ने होइन निर्माता,निर्देशक लगायत चलचित्रका टिमलाई भन्नु उपयुक्त हुन्छ । शिवहरिको यो विचार सुन्दा जोसुकैलाई उनको भित्री मनको डर बुझ्न गाह्रो नहोला । अहिलेको समयमा चलचित्र निर्माणमा हात हाल्नु भनेको जोखिम मोल्नु नै हो किनकि हाम्रै आँखा अगाडी कयौँ चलचित्रले हलमा पानी पनि भन्न पाएका छैनन् ।
करोडौँ लगानी गरिएका चलचित्रका लगानी बालुवामा पानी खन्याए सरह भइरहेको छ । सायद शिव हरिमा सोही डर सवार भएको छ कतै मनमा । रिलिजको केही समय पछाडि जस्तो प्रतिक्रिया लेख्दा वा सार्वजनिक गर्दा नि फरक नपर्ने उनको भनाइ रहेको छ । जसको मतलब चलचित्र जस्तो सुकै होस् दर्शक हलसम्म पुग्नै पर्छ र पैसा खर्च गर्नै पर्छ चाहे उनीहरूलाई चलचित्र मन परोस् वा नपरोस् भन्ने लाग्न सक्छ । यद्यपि शिवहरि दर्शकले पत्याएका कलाकार हुन् उनीमाथि दर्शकको केही मात्रामा भरोसा छ । यसरी सुरुमा नै खुट्टा कमाएको जस्तो देखिनु अलि अस्वभावनिय देखिन्छ । राम्रो र दर्शकको रोजाइमा पर्ने चलचित्रलाई आजसम्म दर्शकले माया गरिरहेका छन् गरिरहने छन् ।