नेपालमा नेपाली चलचित्रले सफलताकासाथ लगानी उठाउनु र धेरै दिन हलमा टिक्नु भनेको संयोगको कुरा हुने गरेको छ । हप्तै पिच्छे एक वा बढी चलचित्र रिलिज भइरहँदा कति चलचित्रले लगानी सुरक्षित गर्न सफल भए त्यसको हिसाब निकाल्न कुनै ठुलो कुरा रहँदैन किनकि एक हप्ता पार गर्ने चलचित्रहरू कमै हुने गर्छन् । चलचित्र चल्नु नचल्नु लगानी उठ्नु न उठ्नु पछिको कुरा भयो तर हप्तै पिच्छे नयाँ चलचित्र रिलिज हुने क्रम भने उस्तै नै छ । यो हप्ता पनि हलमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् ।
अभिनेत्री ऋचा शर्मा अभिनीत ‘न यता न उता’ र अभिनेत्री केकी अधिकारीको ‘रातो गलबन्दी’ रिलिजमा आएका हुन् । दुई अर्धबैशे पुरुषको कथा बोकेको कमेडी चलचित्र ‘न यता न उता’लाई मिराज रोशले निर्देशन गरेका हुन् । चलचित्रमा मिराज रोश, समीर दिक्षित, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणि नेपाल, जीवन भट्टराई, किरण राई, राजन खतिवडा, जयनन्द लामालगायत कलाकारको अभिनय रहेको छ । रिना लामाले निर्माण गरेको चलचित्रले बिहीबार च्यारिटी सो आयोजना गरेको थियो जसमा सकारात्मक प्रतिक्रिया मिलेको थियो ।
यसै गरी अनिश थापाले निर्देशन गरेको चलचित्रमा केकी र कोसिस क्षेत्रीको मुख्य भूमिका रहेको छ । किरण माइकलको कथा रहेको चलचित्रमा बुद्धि तामाङ,अर्जुन गुरुङ, हेमन्त बुढाथोकी, सम्रान्त थापा लगायत कलाकारको अभिनय रहेको छ । प्रेम कथामा आधारित 'रातो गलबन्दी'ले न्यून प्रचारमा नै चलचित्र रिलिज गरेको हो ।