नेपाली चलचित्रको लागी ठुला ब्यानरका प्रतीक्षित बलिउड चलचित्र रिलिज हुनु भनेको सानो तिनो भुईँचालो नै आउनु हो । किनकि यिनै बलिउड चलचित्रको क्यालेन्डर हेरेर नेपाली चलचित्रको रिलिज मिति तोकिन्छ । सकेसम्म कुनै पनि बलिउड चलचित्रसँग भिड्न नपरोस् नसके ठुला ब्यानरको चाहिँ छेउछाउ पर्न नपरोस् भनी नेपाली निर्माताहरूले चलचित्रको निर्माण घोषणा गर्नु अगावै पापड बेल्न सुरु गर्नु पर्ने हुन्छ ताकी आफूले रोजेको र बलिउड चलचित्रको चेपुवामा नपर्ने मितिमा आफ्नो चलचित्र रिलिज गर्न पाइयोस् । यो वर्षको सुरुवातदेखि नै नेपाली चलचित्रहरू बलिउड चलचित्रका चेपुवामा परे । यति बेला नेपाली चलचित्रको रिलिज क्यालेन्डरमा भद्रगोल सृजना भएको छ । रिलिज गर्न मिति तोकिएका चलचित्रहरू धमाधम मिति सार्न र उपयुक्त मिति तोक्न लागी परेका छन् । यस्तो लाग्छ कोही बलवान हातमा लौरो लिएर यी चलचित्रलाई खेदिरहेका छन् र भाग दौड चलिरहेको छ आफ्नो अस्तित्व बचाउ गर्न । यो सब भद्रगोल सृजना हुनुको पछाडिको कारण भनेको भाद्र १३ गते रिलिज हुन लागेको प्रभास स्टारर बलिउड चलचित्र 'साहो' नै हो ।
चलचित्रको निर्माणको समयमा साउन ३०लाई रिलिज मिति तोकिएको थियो तर प्राविधिक काम नसक्किएपछी फिल्म भाद्र १३ मा पुर्याइयो । यसको असर प्रत्यक्ष रूपमा नेपाली फिल्म इन्डस्ट्रीमा परेको छ । विकासराज आचार्य निर्देशित चलचित्र 'हजार जुनीसम्म' साहो साउन ३० मा आउने भएपछि एक हप्ता पछि सारियो तर 'साहो' सरेपछी पुन पहिलेकै मितिमा प्रदर्शनमा आयो । साहोले फाइनल गरेको पछिल्लो मिति अर्थात् भाद्र १३मा दुई नेपाली चलचित्र 'कबड्डी कबड्डी कबड्डी' र 'मारुनी' प्रदर्शनमा आउने पक्का भएका थिए । तर प्रतीक्षित साहोको चेपुवामा पर्ने डरले सुपर हिट फिल्म 'कबड्डी'ले नै हात झिक्यो र असोज ३ लाई नयाँ मिति लक गर्यो । यता असोज ३ मा चलचित्र 'छ माया छपक्कै' ल्याउन दीपकराज गिरीले जोडतोडले प्रयास गर्दै थिए जसको लागी चलचित्र 'घामड शेरे' पनि सारिएको थियो । आफूले रोजेको मिति मा 'कबड्डी ३' आइपुगेपछी 'छ माया छपक्कै' टिम नयाँ र बलिउडको चेपुवामा नपर्ने मितिको खोजी गर्दै भाद्र २७ मा आइपुगेका छन् । असोज १० मा चलचित्र रिलिज गर्ने सोचेको 'छ माया छपक्कै'ले असोज १५ गते ऋतिक रोशन र टाइगर श्राफ स्टारर चलचित्र ‘वार’को चेपुवामा पर्ने हिसाबले त्यहाँ पुग्ने साहस गर्न नसकेको हो ।
यसरी एउटा मात्र विदेशी चलचित्रले रिलिज मिति सारिदिँदा भाँडभौलो मच्चिएको नेपाली सिने बजारमा आत्मविश्वास भन्दा आत्मरतिमा रमाउने धेरै छन् भन्न सरम मान्नु पर्ने देखिँदैन । भाषणमा आफ्नो चलचित्र कुनै कुरामा कमजोर नभएको बताउने फिल्म मेकरहरु यो भद्रगोलमा पर्नुमा नेपाली हलवाला जिम्मेवार छन् । विदेशी चलचित्रका अगाडी नेपाली चलचित्रलाई रौँ पनि नगन्ने प्रवृत्ति र एकाएक चलिरहेको चलचित्रलाई शून्यमा झारिदिने भएकाले पनि नेपाली मेकरहरुले यसरी खुट्टा कमाउनु परेको हुनुपर्छ । अहिलेको यो अवस्था हेर्दा अझ पनि कहिलेसम्म नेपाली चलचित्रले बलिउड चलचित्रको त्रासमा रहनुपर्ने ?भन्ने जटिल प्रश्न खडा गर्छ ।