भदौ १३ लाई रिलिज मिति तोकेर तयारीमा रहेको चलचित्र 'मारुनी' को दुई अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काका साथमा डेब्यु अभिनेत्री रेविका गुरुङलाई स्थान दिइएको छ । चलचित्रले त्रिकोणात्मक प्रेमकथा तथा दुई महिला बिचको सम्बन्धको कथा बोक्ने निर्देशक नवल नेपालले खोलेका छन् । पुनम गौतमले निर्माण गरेको चलचित्रमा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शङ्कर सेढाई, विनोद भट्टराई र सुशील क्षेत्रीलगायत कलाकारको अभिनय रहेको छ । चलचित्र पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो भने चलचित्रलाई सञ्जय लामाले छायाङ्कन, गोविन्द फुयाँल तथा नवल नेपालको लेखन र मित्र डी गुरुङको सम्पादन रहेको छ ।

'मारुनी'को पोस्टरमा साम्राज्ञी पुष्प र रेविकाको केमेस्ट्री

चलचित्रको रिलिज मितिलाई लिएर निकै घम्साघम्सी परिरहेका बेला 'मारुनी'ले आफ्नो ठाउँ छोडेको छैन । तिजको अवसरमा महिलाको कथा बोकेको चलचित्र रिलिज गर्नु निकै उपयुक्त भएको कारण आफू पछि नहट्ने निर्मात्री पुनमले केही दिन अघि बताएकी थिइन् । उता सोही मितिमा रिलिज हुने भनिएको ‘कबड्डी कबड्डी कबड्डी’ले नयाँ मिति तोकिसकेको छ । अहिलेसम्म 'मारुनी' भदौ १३मा सोलो रिलिज हुनेछ ।