यति बेला नेपाली चलचित्रको प्रदर्शन मितिलाई लिएर निकै तल माथि भइरहेको छ । असोज ३ मा दशैको अवसर पारेर प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र ‘छ माया छपक्कै’पनि यसको चेपुवामा परेको छ । प्रतीक्षित बलिउड चलचित्र 'साहो'ले आफ्नो रिलिज मिति फेरेपछी यो स्थिति सृजना भएको हो । यसैको असरले ‘छ माया छपक्कै’ भदौ २७ गते प्रदर्शनमा आउने भएको छ । निर्माता दीपकराज गिरी र रोहित अधिकारीको समूहले असोज ३ मा चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुने भएपछि यो मिति छानेको हो । यद्यपि ‘कबड्डी कबड्डी कबड्डी’ टिमले समन्वय गरे भदौ २७ को प्रदर्शन मिति पनि हेरफेर हुन सक्ने निर्माता दीपकराज गिरीले बताए । उनी थप्छन् ‘कबड्डी टिम छलफलमा आएर एक खालको समहती भयो भने हामी असोज १० या अर्को मितिमा पनि जान सक्छौँ’ । यसरी प्रदर्शनको मिति नजिकिँदै जाँदा पनि रिलिज मिति तोक्न नसक्नु र सम्पूर्ण सिनेजगतमा नै एक किसिमको अन्योल सृजना हुनुले चलचित्रमा कस्तो प्रभाव पार्ला सोचनीय विषय बनेको छ ।