गएको हप्ता नेपाली राजतपटको लागी उपलब्धि मूलक नै रह्यो भन्दा फरक पर्दैन । नयाँ चलचित्रको घोषणा, चलचित्र सम्बन्धी बिभिद कार्यक्रम अनि नयाँ चलचित्रको रिलिज यिनै बिच नेपाली राजातपटको यो हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
निर्देशक-अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको जोडी ‘आदर्श जोडी सम्मान २०७६’बाट सम्मानित भएको छ। चलचित्र बुलबुलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल नायिका स्वस्तिमा र पछिल्लो समय निकै रुचाइएका निश्चलालाइ ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने 'तीज माइती मेला २०७६' को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडीको उपाधि दिँदै सम्मान गरिएको हो ।
नेपालका अत्द्याधिक रुचाइएका डान्सिङ ग्रुप मा कार्टुन क्रु पहिलो नम्बरमा पर्छ । पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेको यो ग्रुपले सुरुवाती दिनहरूमा कभर डान्सलाई आफ्नो क्षेत्र बनाएको थियो । यति बेला उही कार्टुन क्रु आफ्नो नयाँ म्युजिक भिडियोको तयारी मा छ । सरोज र समिता यो ग्रुपका लिड डान्सर हुन् ।
आगामी असोज ३ मा रिलिज मिति तोकेको चलचित्र ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ बोलको गीत गत सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा चलचित्रका मुख्य अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री रुविना थापा निकै आकर्षक अवतारमा प्रस्तुत भएका थिए । चलचित्रका निर्देशक सौरभ चौधरी हुन् ।
कलाकार शिवहरि पौडेलको निर्देशनमा बन्ने चलचित्र ‘लक्का जवान’को बुधवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी औपचारिक निर्माण घोषणा गरियो । चर्चित हास्य सिरियल ‘जिरे खुर्सानी’ निर्देशन गरेर चर्चा कमाएका शिवहरिको यो पहिलो फिचर फिल्म हो । 'लक्का जवान'मा किरण केसी, दिलीप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहने छ ।
बलामी इन्टरटेनमेन्ट अन्तर्गतको नेफा मिडिया ग्रुपले पहिलो पटक ‘नेपाल फिल्म अवार्ड – २०७६’को घोषणा गरेको छ । २१ जना सिनेपत्रकारहरुको टिम रहेको मिडिया ग्रुपले नेपाली चलचित्रको प्रचार-प्रसार र आन्तरिक पर्यटन प्रवर्धनलाई मुख्य उद्येश्यका साथ अवार्ड घोषणा गरेको हो । अवार्डको लागी चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले आयोजनाको लागि सहकार्य गरेका छन् ।
मिस्टर नेपाल २०१७का विजेता अक्षयजंग रायमाझी फिलिपिन्सको राजधानी मनिलामा यही अगस्ट ६ देखी आयोजना हुन लागेको मिस्टर वर्ल्ड २०१९मा सहभागी हुने भएका छन् । विश्व भरबाट उपाधि विजेताहरू सहभागी हुने उक्त प्रतिस्पर्धामामा रायमाझीले नेपालको भेष भूषा, संस्कृतिको प्रचार गर्नुका साथै नेपाल पर्यटन वर्ष २०२०लाई पनि प्रचार गर्ने मिस्टर नेपालका आयोजक एक्स्पोज नेपालले राजधानीमा प्रेस मिट आयोजना गरी जानकारी दिइयो ।
अभिनेत्री ऋचा शर्मा अभिनीत चलचित्र ‘न यता न उता’ शुक्रवारदेखि प्रदर्शनमा आएको छ । दुई अर्धबैशे पुरुषको कथा बोकेको कमेडी चलचित्र ‘न यता न उता’लाई मिराज रोशले निर्देशन गरेका हुन् । चलचित्रमा मिराज रोश, समीर दीक्षित, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणि नेपाल, जीवन भट्टराई, किरण राई, राजन खतिवडा, जयनन्द लामालगायत कलाकारको अभिनय रहेको छ ।
वेब सिरिज 'ट्वएन्टी फर्स्ट लभ'को सिजन दुईको ट्रेलर सार्वजनिक भएको छ । कविता आले, अनुश्का अधिकारी, संयोग गुरागाँई लगायत कलाकारको मुख्य अभिनय रहेको छ । सिरिजको पहिलो भाग आगामी शनिवार रिलिज हुनेछ ।
आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने नम्रता श्रेष्ठ र अनुप विक्रम शाही स्टारर चलचित्र 'जाइरा' टिम यति बेला पोस्ट प्रोडक्सनमा व्यस्त छ । चलचित्रमा प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नव कलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय रहेको छ । मुख्य कलाकार नम्रता र अनुप चलचित्रको प्रचारप्रसारको क्रममा छन् ।