शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'साईनो'ले आयोजना गरेको विशेष सोमा उपस्थित अतिथि कलाकारले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका छन् । नेपालकी प्रथम अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको साइनो हेर्न विकास बोर्ड अध्यक्ष केशव भट्टराई, निर्देशक दिपश्री निरौला, सरोज खनाल, प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, नवल खड्का, सवनम मुखिया, भुवन चन्द थापा, मिरुना मगर, राज कुमार, निर्देशक रमेश थापा लगायत ‘साईनो’ निर्माण टिम र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । साथमा मुख्य अतिथिका रूपमा उपस्थित नेपाल सरकारका रक्षा मन्त्री ईश्वर पोखरेल पनि उपस्थिति रहेको थियो । मन्त्री पोखरेलले ‘साईनो’ मन छुने मौलिक नेपाली कथामा निर्माण भएको बताएका छन् । चलचित्रमा समेटिएको कला, संस्कृतिले मन छोएको भन्दै सम्पूर्ण नेपालीले हेर्नै पर्ने चलचित्र बनेको विचार राखेका छन् ।
साथमा शोमा उपस्थितले चलचित्र राम्रो बनेको बनेको प्रतिक्रिया दिएका छन् । रमेश थापाले निर्देशन गरेको चलचित्रमा निता ढुङ्गाना, मिरुना मगर, राज कुमार, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका कलाकारहरूको अभिनय रहेको छ । चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् । चलचित्रलाई अभिमन्यु निरबीले लेखेका हुन् ।