शुक्रवार देखी प्रदर्शनमा आएको चलचित्र 'साइनो'लाई विशेष सोमा अतिथि तथा दर्शकको उत्साहजनक प्रतिक्रिया मिलेको थियो । विशुद्ध अर्गानिक स्वादमा निर्माण भएको चलचित्र भनेर प्रशस्तै तारिफ गरिएको थियो । नेपालकी प्रथम अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको ‘साइनो’लाई हलमा दर्शकले कति साथ दिए ? अहिले त्यो प्रश्न उठिरहनु सामान्य नै हो । किनकि हरेक चलचित्रले आयोजना गरेका प्रिमियर होस् या विशेष सोमा चलचित्र निर्माण पक्षको मन राखिदिनको लागी पनि चलचित्र आफूलाई खुब मन परेको प्रतिक्रिया उपस्थित सबैले दिने गर्छन् । तर त्यही प्रतिक्रियालाई आधार मान्ने हो भने दर्शक धेरै ठाउँमा झुक्किएको प्रतिक्रिया दिन्छन् ।
उसो त नेपाली हलहरू नेपाली चलचित्रको लागी केही महिना यता निर्जन नै बनेका छन् । यो निर्जनाता हटाउने आस गरिएका केही चलचित्रले पनि राम्रो व्यापार गर्न सकेनन् । यसैबिच रिलिज भएको 'साईनो'ले कति दर्शक तान्न सफल भयो त्यो कौतूहल को विषय हो । चलचित्रको निर्माण पक्षका अनुसार शुक्रवारको तुलनामा चलचित्रको व्यापार शनिवार राम्रो रहेको छ । सिङ्गल थिएटर टार्गेट गरेको यस चलचित्रले औसत दर्शक पायो । साथै मोफसलका हलहरूमा पनि दर्शकको उपस्थिति औसत नै रहेको बुझिएको छ । रमेश थापाले निर्देशन गरेको चलचित्रमा निता ढुङ्गाना, मिरुना मगर, राज कुमार, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका कलाकारहरूको अभिनय रहेको छ । चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् । चलचित्रलाई अभिमन्यु निरबीले लेखेका हुन् ।