आगामी शुक्रवारबाट प्रदर्शनमा आउने तयारी गरिरहेको ‘हजार जुनीसम्म’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । आइतबार इन्टरनेटमा सार्वजनिक गरिएको गीत मा भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो ‘सारेगमप लिटल च्याम्प्स’ मा चौथो स्थान हासिल गरेका आयुष केसीको स्वर रहेको छ । उदय सोताङको निकै चर्चित गीत ‘हजार जुनीसम्म’मा आयुषले आवाज भरेका हुन् । गीत मा योगेन्द्र घतानीको सङ्गीत र पवन चाम्लिङको शब्द रचना रहेको छ । विकास राज आचार्यले निर्देशन गरेको चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेतका अलावा संचिता लुइँटेल, प्रियंका कार्की, शिवहरी पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।

केही दिन अघि चलचित्रको ट्रेलर सार्वजनिक भएको छ जसलाई दर्शकले निकै मन पराएका छन् । एबीसी एण्ड एआरसी ग्राण्डसन फिल्मस् र माता पाथीभरा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र विशाल चाम्लिङको कथा, निर्देशक आचार्य र सामीप्यराज तिमिसेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाङ्कन, राजनराज सिवाकोटी, उदय सोताङ, वसन्त सापकोटा र प्रविन पौडेलको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।