एउटी नारी को हुन्, उनको परिचय, उनको आत्मसम्मान र उनको स्थानको बारेमा निकै पहिले देखी नै बहस चल्दै आइरहेको छ । एकातिर महिला अधिकारको मुद्दा अर्का तिर दिनानुदिन बढ्दै गएका हिंसा , लाग्छ यी दुई नितान्त फरक कुरा हुन र एक अर्कासँग केही सम्बन्ध राख्दैनन् । नारी जाती माथि को यो हिंसा नयाँ भने पक्कै होइन । महाभारत होस् या रामायण सबैमा नारीलाई केबल तल्लो दर्जाकै स्थान दिइएको छ । जुवामा पाण्डवले हार्दा चिर हरणमा परेकी द्रौपती हुन् या सिता ती सबै आजका निर्मला पन्तका प्राचीन रूप हुन् । यसै विषयलाई नाटकको रूप दिएर नाटककार अशेष मल्लको निर्देशनमा नाटक 'अर्को कुरुक्षेत्र' निर्माण भएको छ । सम्पदा मल्लको कथा, अशेष मल्लले लेखन र निर्देशन गरेको नाटक ‘अर्को कुरुक्षेत्र’ सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ ।
नाटकमा केही समय अघिकी निकै चर्चित अभिनेत्री उषा रजक लगायत मनोज महर्जन, मुकेश हमाल, बिन्दु बीएम, रिया भारती, पासलाक्पा शेर्पा, हिरा हमाल, धिरज थापामगर, शोमा कार्की, कसिना बोखिम लिम्बूको अभिनय रहेको छ । नाटकमा नारीले सत्ययुग, द्वापर युग, त्रेता युग र कलियुगमा भोग्नुपरेका पिडालाई निकै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । साउन २४ गते देखी मञ्चन सुरु भएको नाटक भदौ २१ सम्म बिहीबार बाहेक हरेक साँझ ५:३० बजे मञ्चन भइरहेको छ ।