नेपाल साहित्य महोत्सवको आठौँ संस्करण मङ्सिर २७ देखि ३० सम्म पोखरामा आयोजना हुँदै छ । महोत्सवको बारेमा आइतबार एक कार्यक्रम आयोजना गरी जानकारी दिइयो । १ सय ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्वको उपस्थिति रहने यस महोत्सवमा भारतका चर्चित लेखक जावेद अख्तर, अभिनेत्री शबना आजमी र लेखक शशी थरुर मुख्य अतिथिका रूपमा नेपाल आउने जानकारी दिइएको छ । बुकवर्म फाउन्डेसनले सन् २०११ मा सुरु गरेको महोत्सव राष्ट्रियस्तरबाट बिस्तारै दक्षिण एसियाकै महोत्सवका रूपमा विस्तार हुन लागेको कार्यक्रममा उल्लेख गरियो ।
दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको दक्षिण एसियाली साहित्यकै महत्त्वपूर्ण मानिने ‘डिएससी’ पुरस्कार प्रदान गरिने छ । यस वर्षको महोत्सव पोखरामा मात्र सीमित नभएर एउटा सेसन जनकपुरमा पनि राखिएको छ ।