दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाही अभिनीत चलचित्र 'लप्पन छप्पन २'को यति बेला छायाङ्कन भइरहेको छ । २ वर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘लप्पन छप्पन’को सिक्वेल यस चलचित्रले भर्खरै नेपालमा छायाङ्कन सकेर युरोप पुगेको छ । चलचित्रका मुख्य चार अभिनेता यति बेला युरोप पुगेका छन् । मुकुन्द भट्टले निर्देशन गर्ने चलचित्रको छायाङ्कनको लागी टोली युरोप पुगेको हो भने अस्ट्रेलियामा पनि केही भाग छायाङ्कन हुने बताइएको छ । अनुपले आफ्नो आधिकारिक फेसबुकमा चारजनाको फरक अवतार सहितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
‘लप्पन छप्पन’को अघिल्लो श्रृंखलामा दया, सौगात र अर्पणकै मुख्य भूमिका थियो भने अनुपको दोस्रो भागमा इन्ट्री भएको हो स्रोतका अनुसार उनी नेगेटिभ भूमिकामा देखिनेछन् । चलचित्रमा नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमारलगायतका कलाकारहरूको पनि अभिनय रहने छ । यसै गरी चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । एक्सन जनरामा निर्माण हुने चलचित्रले फागुन ९ गतेलाई रिलिज मिति तोकेको छ ।