यो वर्ष नेपाली चलचित्र क्षेत्रको लागी सुरुवाती दिनहरूमा निकै राम्रो मानिएको थियो । केही चलचित्रले दर्शकको मन जित्नुका साथै खल्ती भर्न पनि भ्याए । तर जेठबाट ओरालो लागेको चलचित्रको व्यापार अझै माथि उठ्न सकेको छैन । केही आस गरिएका चलचित्रले पनि निराश भएर हलबाट हात धुनुपर्यो भने केहिले खर्च उठाउन सफल भए । नेपाली चलचित्रले आफ्नो कारण मात्र दर्शकको साथ पाउन नसकेको भने होइन भन्न सकिन्छ यो वर्ष किनकि वर्षको सुरुदेखि नै बलिउडका प्रतीक्षित एवम ठुला ब्यानरका चलचित्रको चेपुवामा नेपाली चलचित्र पर्नु पर्यो । यसको क्रम अझै जारी छ जसको कारण नेपाली चलचित्रको रिलिज क्यालेन्डर नै उथलपुथल भइरहेको छ । त्यसैले त उपयुक्त मितिमा आफ्नो चलचित्र प्रदर्शनमा ल्याउने होडबाजी नै चलिरहेको छ ।
यसैबिच यो बिहीबार अर्थात् जनैपुर्णिमाको दिन यस वर्षको प्रतीक्षित चलचित्र 'हजार जुनीसम्म' प्रदर्शनमा आउँदै छ । चलचित्रमा पछिल्लो समयका जल्दा बल्दा कलाकारको अभिनय रहेको छ । केही दिन अघि चलचित्रको ट्रेलर सार्वजनिक गरियो जसलाई दर्शकले मन पराइरहेका छन् । यसै गरी गीत सङ्गीतहरू पनि एक पछि अर्को रिलिज भइरहेका छन् । चलचित्रमा पर्दामा लभर ब्वाइको रूपमा चिनिएका आर्यन सिग्देल, यस वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड हात पर्न सफल श्वसतिमा खड्का, चुलबुले भूमिकामा निकै रुचाइएका र आफ्नो अभिनयले दर्शकको ध्यान खिच्न सफल सलोन बस्नेत, नव अभिनेता अखिलेस प्रधान लगायतको मुख्य अभिनय रहेको छ । यति बेला यी तीन मुख्य अभिनेता दौडधुपका साथ चलचित्रको प्रमोसनमा हिँडिरहेका छन् । तिनै अभिनेता यसरी प्रचारप्रसारमा लागिपर्नु पछाडिको कारण भनेकै यस चलचित्र उनीहरूको लागी एउटा टर्निङ पोइन्ट भएको मान्छन् । अभिनेता आर्यन सिग्देलको लागी यस फिल्म विशेष छ किनकि पछिल्लो समय उनी अभिनीत चलचित्रले दर्शकको मन सोचे जसरी जित्न सकेको छैन । यसै गरी अर्का अभिनेता सलोन हजार जुनीसम्मलाई आफ्नो करीयरको माइलस्टोन मान्छन् । साथमा नव अभिनेता अखिलेशको लागी झन् आफ्नो करीयरको आधार बनाउने समय विशेष हुने नै भयो ।
चलचित्रमा आर्यनले आफ्नो प्रेमको लागी जीवन नै सुम्पने एक प्रेमीको भूमिका निभाएका छन् भने सलोन र अखिलेश उनका छोराको भूमिकामा छन् । चलचित्रमा श्वसतिमाको भूमिकालाई भने केही सस्पेन्समा राखिएको छ । चलचित्रमाथि थप कौतुहलता सृजना गर्न पनि सार्वजनिक ट्रेलरमा उनको भूमिकालाई सस्पेन्समा राखिएको हो । उसो त श्वसतिमा चलचित्रको प्रचारप्रसारमा उति हिँडेकी छैनन् । यद्यपि तीन अभिनेताले प्रमोसनको काम धानिरहेका छन् । तीन फरक समयका कलाकारको सहकार्य निकै रोचक त हुने नै भयो साथमा एक अर्कासँग काम गर्दा आफूहरूले धेरै कुरा सिक्ने अवसर पाएको उनीहरूको भनाइ छ ।
विकास राज आचार्यले निर्देशन गरेको चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेतका अलावा सञ्चिता लुइँटेल, प्रियंका कार्की, शिवहरि पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । एबीसी एण्ड एआरसी ग्राण्डसन फिल्मस् र माता पाथीभरा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र विशाल चाम्लिङको कथा, निर्देशक आचार्य र सामीप्यराज तिमिसेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाङ्कन, राजनराज सिवाकोटी, उदय सोताङ, वसन्त सापकोटा र प्रविन पौडेलको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।