भाद्र १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'मारुनी'को केही दिन अघि ट्रेलर सार्वजनिक गरियो । ट्रेलरमा ट्रेलरमा साम्राज्ञी, पुष्प र रेविकाबिचको प्रेम र पागलपनलाई देखाइएको छ । पुनम गौतमले निर्माण गरेको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्र ‘मारुनी’ समलिङ्गी प्रेम कथामा आधारित चलचित्र हो । मुख्य अभिनेत्री साम्राज्ञीले समलिङ्गीको भूमिका निभाएकी छिन् । चलचित्रको ट्रेलरमा कथा र यसको क्लाईमेक्सलाई निकै चलाखीपुर्ण रूपले सस्पेन्समा राखिएको छ । उसो त नेपालमा समलिङ्गी कथामा आधारित चलचित्र उति बन्ने गरेका छैनन् । बनेका केही चलचित्रले पनि कथावस्तुलाई न्याय गर्न नसकेको भन्दै दर्शकले उति मन पराएनन् । मान्छेको आन्तरिक स्वभाव, भावना र साइकोलोजिकल कुरा भएको कारण पनि यो विषय त्यति सजिलो र सामान्य तरिकाले सोचेर मात्र हुँदैन । आजको समयमा साझा मुद्दा बनेको समलिङ्गी सम्बन्धित कुरा जति जटिल छ उति साहसिक पनि ।

एउटा सिङ्गो समुदायलाई समेटिने गरी र उनीहरूको भावनामा ठेस नपुग्ने गरी काम गर्नु पर्ने यस विषय रोज्नु चलचित्र निर्माणमा एउटा जोखिम मोल्नु नै हो । चलचित्र 'मारुनी'ले त्यो जोखिम उठाएको छ । फरक विषय र फरक तरिकाबाट निर्माण गरिएका चलचित्रलाई दर्शकले रुचाउने गरेको यथार्थ हामी माझ छँदै छ । यसर्थ चलचित्रलाई फरक देखाउन हो या साँच्चै नै समलिङ्गी प्रेम र सम्बन्धको विषय उठाएर एउटा जोखिम मोल्ने काम निर्माण पक्षले गरेको छ त्यो रिलिज पछि नै थाहा लाग्नेछ । अभिनेत्री साम्राज्ञीले पनि चलचित्रमा काम गर्नु आफ्नोलागि चुनौतीपुर्ण भएको  र राम्रो कथा भएको कारण फिल्म नकार्न नसकेको ब बताइसकेकी छिन् । निर्मात्री पुनममा पनि चलचित्रलाई लिएर एक प्रकारको आत्मविश्वास रहेको छ । उनले महिला केन्द्रित चलचित्र भएको कारण जसरि पनि महिलाहरुलो महान् चाड तीजमा नै आफ्नो चलचित्र रिलिज गर्ने अडान लिएर त्यसैको तयारी गरिरहेकी छिन् । चलचित्रको प्रचार पनि उही गतिमा भइरहेको छ । एक फरक विषयमा हात हालिएको यस चलचित्रले साँच्चै नै समलिङ्गी समुदायको भावनालाई न्याय गर्न सकेमा यस विषयमा बनेको र कथालाई न्याय गर्न सफल चलचित्रको रूपमा युगौँसम्म चिनिनेछ । 

सञ्जय लामाको छायाङ्कन रहेको 'मारुनी'मा शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री फिल्मका सहा निर्माता हुन् भने  गोविन्द फुयाँल र निर्देशक नेपालको कथा रहेको छ । चलचित्रलाई मित्र डी. गुरुङले सम्पादन गरेका हुन् ।