जनै पूर्णिमाको अवसर पारेर बिहीबार नै प्रदर्शनमा आएको चलचित्र ‘हजार जुनीसम्म’ ले सुखद ओपनिङ गरेको निर्माण पक्षले बताएको छ । ओपनिङको दिनमा क्युएफएक्स अन्तर्गतका हलहरूमा १९ सो पाएको चलचित्रले करीब ८०% अकुपेन्सी पाएको थियो । मल्टिप्लेक्सको तुलनामा सिङ्गल स्क्रिनमा फिल्म हेर्ने दर्शकको चाप बढी रहेको देखिएको छ । चलचित्र हेरेका दर्शकले  फिल्म एउटा प्याकेज भएको प्रतिक्रिया दिएका छन् ।

दर्शकले आर्यन सिग्देलको कामलाई निकै रुचाएका छन् भने स्वस्तिमा खड्का र सलोन बस्नेतको प्रस्तुति पनि मन पराएका छन् । विकासराज आचार्यले निर्देशन गरेको ‘हजार जुनीसम्म’ रक्षाबन्धनको अवसरमा रिलिज त भएको छ तर यसका साथै चलचित्रले बलिउडका दुई ठुला चलचित्र अक्षय कुमारको ‘मिसन मङ्गल’ र जोन अब्राहमको ‘बाटला हाउस’सँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।

चलचित्र बक्सअफिसमा लामो रेसको घोडा बन्न दर्शक र समीक्षकको मन जित्नु पर्ने देखिन्छ । आर्यन सिग्देल, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुइँटेल, शिवहरि पौडेल, प्रियंका कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको चलह्चित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।  पटकथा सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन् भने कविता रेग्मी कार्यकारी निर्माता रहेकी छिन् । ​​​​​​​