नम्रता श्रेष्ठ स्टारर चलचित्र 'जाइरा' टिम यति बेला मोफसलमा प्रचार प्रसारको क्रममा छ । नेपाली चलचित्रको लागि दोस्रो व्यापारिक स्टेसन मानिने पर्यटकीय सहर पोखरामा शुक्रवार दिनभर चलचित्रको टिमले प्रचार-प्रसारका विभिन्न कार्यक्रमहरू आयोजना गर्यो । प्रचारप्रसारका लागी चलचित्रकी मुख्य नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकारहरू सुजिता श्रेष्ठ र सम्राट मगर लगायत मोफसलको यात्रामा छन् । लेकसाइडमा रहेको डुङ्गा रेष्ट्रोमा पत्रकार सम्मेलन तथा अन्तर्क्रिया कार्यक्रम आयोजना भएको थियो । अन्तर्क्रियामा नम्रताले महिला एक्सन प्रधान चलचित्रमा आफै लगानी गरेर निर्माण गर्नु पछाडिको कारण खुलाउँदै अरूले हिम्मत नगरेकोले आफूले एक्सन चलचित्र बनाउन हिम्मत गरेको बताइन् । कार्यक्रममा आफूले गरेको मिहिनेत र अनुभव बताउँदै कलाकारहरूले आफ्नो कामको र भूमिकाको बारेमा बोले ।
यसै गरी पत्रकार सम्मेलनमा अभिनेता प्रमोद अग्रहरीको लुक्सको चर्चा भयो । ट्रेलरमा देखिएको लुक्स बारे सञ्चारकर्मीको जिज्ञासामा उनले भदौ ६ गते चलचित्र हेरेपछि उक्त राज खुल्ने बताए । अग्रहरीले 'जाइरा'मा आफू नेगेटिभ भूमिकामा भएकोले ट्रेलरमा केही ग्ल्यामर देखिएको प्रस्ट्याउनुका साथै उनले चलचित्रमा पनि स्वभावतः: ग्ल्यामर देखिने खुलाए । कार्यक्रमको क्रममा पोखरामै 'टम्बल वीड' ब्याण्डले 'जाइरा'को ओरिजिनल साउन्ड ट्रयाक ‘जिन्दगीको खेल’को प्रस्तुति दिएको छ । इन्टरनेटमा सार्वजनिक नभएको यस गीत केही दिनमा सार्वजनिक गरिने बताइएको छ । लेकसाइडको रोलिङ्ग स्टोन रक बारमा विशेष प्रस्तुति दिँदै ब्याण्डले चलचित्रको उक्त ओएसटी प्रस्तुत गरेको हो ।
यसै गरी, पोखराका स्थानीय सञ्चारमाध्यमहरूमा समेत पुगेको 'जाइरा' टिम ट्रेड मलमा रहेको चलचित्र हल तथा मिड टाउन चलचित्र हल तथा अन्य सपिङ कम्प्लेक्समा दर्शक सामु साक्षात्कार गर्न पुगेको थियो । प्रचारप्रसारको क्रममा 'जाइरा' टिम अन्य सहरहरूमा पनि पुग्ने टिमले जानकारी दिएको छ । आशुतोष राज श्रेष्ठले निर्देश गरेको 'जाइरा'मा नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।