केही साता अघि चलचित्र छायाँकनको लागी युरोप पुगेको चलचित्र ‘लप्पन छप्पन २’ टिम सुटिङनै नगरी नेपाल फर्किएको छ । चलचित्र निर्माण टिमको व्यवस्थापन नमिल्दा छायाँकनको लागी युरोप पुगेका कलाकार घुमघाम गरि नेपाल फर्किएका हुन् । शनिबार चलचित्रका कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुपबिक्रम शाही लगायतका टिम नेपाल फर्किएका हुन् । छायाँकनको लागी करिब २ साता अघि १७ जनाको युनिट युरोपको लागी उडेको थियो । सामाजिक सञ्जालमा अभिनेता दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुपबिक्रम शाहीसँगै अभिनेत्रीहरु सुरविना कार्की र नम्रता श्रेष्ठ घुमिरहेको तस्बिर देख्न सकिन्थ्यो । बुझिए अनुसार नर्माण टिमले छायाँकनको अनुमति सम्म नलिएको र छायाँकनको लागी क्यामेराको समेत व्यवस्था नभएपछि कलाकारहरुले घुमेरै समय बिताएका थिए । त्यस्तै छायाँकार पुरुषोत्तम प्रधान युरोप नउड्दा उनको बैकल्पिक छायाँकर कोही नभएको बुझिएको छ । युरोप छायाँकनको केही चाँजोपाँजो नमिलाई र चलचित्रका निर्माताहरुसँग खबर नगरी चलचित्रका निर्देशक मुकुन्द भट्टले कलाकारहरुलाई बेल्जियम लगेको बुझिएको छ । त्यस्तै कलाकार र प्राविधिक पुगेसँगै छायाँकन र क्यामेराको व्यवस्थापन नभएपछि निर्माता र निर्देशक बिच मनमुटाब भएको बुझिएको छ । अन्ततः स्थानिय निर्माताले भने अब अष्ट्रेलिया छायाँकन गरेर मात्रै यूरोपमा चलचित्र खिच्नमा सहमति जनाएका छन् । युरोपबाट फर्किएका चलचित्रका द्धन्द्ध निर्देशक हिमाल केसीको अनुसार निर्माण टिम बिच तालमेल नमिलेको कारण छायाँकन नभएको बताउछन् ।स्थानिय टिमले उतै क्यामेरा मिलाउने भनिएको कारण नेपालबाट क्यामेरा नलगिएको र आवश्यक पर्ने क्यामेरा नमिलेपछि सानो क्यामेरा ले नै केहि ‘मोन्टाज’ दृश्य मात्र खिचिएको उनले जानकारी दिए । यूरोप पुग्नु पहिले निर्देशक भट्टले केहि प्रतिशत छायाँकन नेपालमा गरेका थिए । अब ो बाँकी सुटिङ सेड्यूअल अक्टुबरलाई सरेको बताइएको छ । कलाकारहरुको समय मिलाएर युरोप र अष्ट्रेलियामा फिल्मको छायाँकन पुनः सुरु हुनेछ ।