अध्ययन क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटीस युवतीसँगको प्रेम र त्यसबाट सृजना भएको जटिल परिस्थितिको कथा बोकेको चलचित्र ‘कैदीको पत्र’ बेलायतका विभिन्न स्थानमा सुटिङ भइरहेको छ । साहित्यकार ईश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’मा आधारित चलचित्रलाई साहित्यकार सनमकुमार बैरागले निर्देशन गर्दै छन् । चलचित्रको  पटकथा, सम्वाद र गीत समेत निर्देशक आफैले तयार पारेका हुन् । चलचित्रको गीतको छायाङ्कनमा बेलायतका राजदूत साहित्यकार दुवसु क्षेत्री उपस्थित भएका थिए । म्याडिसन लाजारस,कुनाल विश्व,सलिना थापा मगर,पृथ्वी क्षेत्री,किरण कार्की, क्यारी डुड्स,चरण प्रधान,मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापाको अभिनय रहेको यस चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन रहेको छ ।

साथमा कविराज गहतराजको कोरियोग्राफी,सम्राट बस्नेतको द्वन्द्व निर्देशन,सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको सङ्गीत रहेको छ । चलचित्रका मुख्य सहायक निर्देशक रामशरण कोइराला र सहायक निर्देशक सुस्मिता थापा हुन । स्कटल्याण्डको क्रिफ, आवरफेल्दी, केनमोर, किलिङ्ग, ग्लास्को,ओमनलगायतका स्थानमा सुटिङ गरिएको चलचित्रको लगभग ५० प्रतिशत छायाङ्कन सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।