बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘हजार जुनीसम्म’को सोमबार विशेष सो आयोजना गरिएको थियो । चलचित्रका टिम, कलाकार तथा मिडियाको उपस्थितिमा जय नेपाल हलमा आयोजना गरिएको शो मा चलचित्रका निर्देशक र अन्य मुख्य कलाकार उपस्थित थिएनन् । यसै गरी चलचित्रका नायक आर्यन सिग्देलले शो सकिएपछि मिडियासँग बोल्न चाहेनन् । यद्यपि उपस्थित नायक सलोन बस्नेत, नव नायक अखिलेश प्रधान, बाल कलाकार अनुभव रेग्मी, निर्माता कविता रेग्मीले दर्शकले चलचित्रलाई मन पराइरहेको र राम्रो प्रतिक्रिया दिइरहेको बताएका छन् । शोमा उपस्थित अधिकांशले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् भने निर्मात्री कविता रेग्मीका अनुसार देशमा भइरहेको विभिन्न घटना र अवस्थाले आफ्नो चलचित्रले सोचे जति व्यापार गर्न नसकेको तर चलचित्र हेरेका दर्शकले मन पराएका छन् ।

चलचित्रले  बक्स अफिसमा सुखद कमाई गर्न सफल नभए पनि आर्यन सिग्देलको काम भने दर्शकले मन पराइरहेका छन् । प्रेमीको भूमिकामा देखिएका आर्यनको रोमान्टिक, भावुक र कमेडी अवतार दर्शकले रुचाएका छन् । विकाशराज आचार्यले निर्देशन गरेको चलचित्रमा आर्यन र प्रियंकाका साथमा स्वस्तिमा खड्का, सञ्चिता लुइँटेल, सलोन बस्नेत, अखिलेष प्रधान लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । ‘हजार जुनी सम्म’मा विकास र सामिप्याराज तिमिल्सिनाको पटकथा तथा संवाद रहेको छ । साथमा पुरुषोत्तम प्रधानको छायाङ्कन र अर्जुन जिसीको सम्पादन रहेको छ ।