पत्रकार रवि लामिछानेसहित पक्राउ परेका तीनजनालाई पत्रकार सालिकरामको आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा आज मङ्गलवार चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले उनीहरूलाई दोस्रो म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो । पटक पटक गरी अदालतले २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिन सक्ने व्यवस्था छ । यसै गरी उनीहरूलाई पनि अदालतले आवश्यक ठहर्याए पुन म्याद थप गर्न सक्नेछ । लामिछानेसहित रुकु कार्की (अस्मिता) र युवराज कँडेल विरुद्ध सालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन गरेको मुद्दामा अनुसन्धान भइरहेको छ ।
पुडासैनीले आत्महत्याअघि आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि उनीहरू पक्राउ परेका थिए । भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैँ खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ। पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।