व्यस्तताले वा चाहँदा चाहँदै अनेक कारण बस हलमा प्रदर्शनमा आइरहेका बेला चलचित्र हेर्न जान नभ्याउने हुन सक्छ । आफूलाई हेर्न मन लागेको चलचित्र हेर्न नपाउँदा पक्कै दुख लाग्छ तर समय यती अगाडी बढिसकेको छ कि प्रविधिले तपाईँ हामीलाई निराश हुनै नपर्ने बनाइदिन्छ । पछिल्लो समय चलचित्र हेर्न हल पुग्नुको विकल्प थुप्रै आइसकेका छन् । विदेशमा त यो प्रचलन अलि अगाडी नै आएको हो । अब नेपालमा पनि नेपाली चलचित्र हेर्न हल नै पुग्नुपर्ने र आफ्नू रोजाइमा परेको चलचित्र छुटेमा मन दुखाउनु नपर्ने भएको छ । पछिल्लो समय आइफिल्क्स, नेटफ्लिक्स चर्चामा रहेका बेला ओएसआर डिजिटलले नेपाली चलचित्र हेर्ने विकल्प ‘भिडियो पसल’ नामको एप्सको निर्माण गरेको छ । नेपाली चलचित्र क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका साथै बजारको दायरालाई फराकिलो बनाउन सञ्चालनमा ल्याइएको ओएसआर डिजिटलले बताएको छ । हलमा रिलिजकै दिन पनि ‘भिडियो पसल’मा चलचित्र रिलिज गर्न सकिने योजना रहेको छ ।
तर, हाललाई रिलिज भइसकेको चलचित्रलाई विश्वभरिका दर्शक समक्ष एकै पटक पुराउने लक्ष्यले ‘भिडियो पसल’ सञ्चालनमा ल्याइएको हो । ‘भिडियो पसल’ मा न्यूनतम शुल्क तिरेर नयाँ नयाँ चलचित्रहरू हेर्न पाइनेछ । केही चलचित्रहरू भने निःशुल्क हेर्ने व्यवस्था पनि गरिएको छ । मोबाइल एप्सबाट विश्वको कुनै पनि कुनाबाट यो एप्स प्रयोग गरी नेपाली चलचित्र हेर्न सकिनेछ ।