पैसाको कारोबारमा विश्वास अनि पारदर्शिता आवश्यक पर्छ नत्र यसले सम्बन्ध त बिगार्छ नै विभिन्न खाले जटिलता पनि निम्तिने गर्छ । यही पैसाको कारोबारको कारण चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई प्रहरीले हिरासतमा लिएको छ । उनलाई आपराधिक विश्वास घातको मुद्धामा टेकु अपराध महाशाखाले बुधवार समातेको हो । चलचित्र ‘लिलीबिली’का निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले वितरक शाही विरुद्ध करिब एक वर्ष अगाडी अपराध महाशाखामा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा शाहीलाई बुधवार सोधपुछका लागि समातिएको हो । ‘लिलीबिली’बाट निर्देशक चाम्स र निर्माता खड्कालाई शाहीले ८७ लाख ७४ हजार ७६५ दिनु पर्ने बताइएको छ ।