पछिल्लो समय इन्टरनेटको पहुँच र हरेक तह र तप्काका व्यक्तिलाई सहज हुने कारण युट्युब लोकप्रिय भइरहेको छ । आफूलाई मन लागेका बेला र आफ्नो समय अनुकूल हेर्न सुन्न सकिने यो श्रव्य दृश्य माध्यम यती छिटो हुर्केला भन्ने सायदै कसैले सोचेका थिए । जसरी रेडियोको विकल्पमा टिभीले ठाउँ ओगट्न समय लियो उसरी युट्युबले टिभी लगायत अन्य माध्यमको ठाउँ लिन समय लिएन । आफू जहाँ पुगिन्छ उहिँ उपलब्ध हुने, आफ्नो रुचि र मनसाय अनुरूपका कार्यक्रम हेर्न झन्झट नहुने भएकैले होला हरेकले यसलाई औधी प्रेम गरेको । युट्युब यतिबेलासम्म पाइपुग्दा यस्तो साझा चौतारी बनेको छ जहाँ तपाईँ आफ्नो विचार, आफ्नो कला होस् या आफ्नो रुचि हरेक कुरालाई बिसाउन सक्नुहुन्छ । अरू सामु ल्याउन सक्नु हुन्छ । हामी त्यो समयबाट गुज्रेको धेर भएको छैन, जति बेला कोही गीत सङ्गीतमा औधी रुचि राख्छ तर न उ रेडियो नेपालसम्म पुगेर अडिसन दिन सक्थ्यो न आफू नै कुनै माध्यमबाट बाहिर आउन सक्थ्यो । तर अब ती दिन सम्झिँदा त्यस्तो नि हुन्थ्यो है भन्ने दिन आएको छ । किनकि तपाईँ एउटा कलाकार बन्न चाहनुहुन्छ भने न कसैलाई गएर हात जोड्नु पर्छ न वर्षौँ सङ्घर्ष गर्नु पर्छ बस्, आफ्नो कलालाई समेटेर एउटा भिडियो बनाउनुस् अनि पोस्ट गर्नुस् युट्युबमा । साँच्चै तपाईँमा केही छ भने तपाईँ हिट! नाम कमाई सबै युट्युबले दिन्छ । 

अचेल युट्युबको रातो लोगो जसमा 'प्ले' को चिन्ह छ, त्यसैले तपाईँको जीवनसँग बडो मस्तसँग खेलिदिन्छ । कहिले एकाएक चर्चाको शिखरमा पुर्याइदिन्छ कहिले जीवन तसहनसह बनाइदिन्छ, वर्षौँ लगाएर कमाएको नाम दाम स्वाहा ! आजको दिनमा तपाईँ हामी दिनमा कतिचोटी युट्युबको भर्चुअल संसारमा औँला चलाउँछौँ ? हामी औँला चलाउँछौ हामीलाई उसले चलाइदिन्छ । यो नशा हो जसमा एक पटक छिर्नुहोस् एउटा समाचार हेर्दै गरेका हामीलाई विश्वको कुन कुनाबाट हाम्रो आँखालाई कुरिबसेका आकर्षक अनि नौला थम्बनेल भित्र आँखा पौडी खेल्न पुग्छन् अनि हाम्रो अगाडी हाम्रो भोक कुरेर बसेको भात सेलाउँछ, तलतल मेटाउन बसालेको चिया उम्लेर सकिन्छ, रातले नेटो काट्छ पत्तो हुँदैन । मोबाइलको ब्याट्री इन्डिकेटरको ट्वाङ्गले झसङ्ग बनाउँछ अनि ज्या! के गरियो के हेरियो के पाइयो थाहा हुँदैन बस समय हातमा हुँदैन । 
पछिल्लो समय युट्युबमा तपाईँले अन्तिम पल्ट युट्युबमा के हेर्नु भयो याद छ ? सायद कुनै काण्ड या कसैको उटपट्याङ, वा भाइरल भिडियो जसमा के छ तपाईँ आफैलाई थाहा छैन । हो पछिल्लो समय युट्युब यस्तो संसार बनेको छ जहाँ कोही व्यक्ति एकाएक हिरो बनिदिन सक्छ, कोही त्यसै फसिदिन्छ वा कोही मजाकको पात्र बनिदिन्छ, न मजाक बन्नेलाई पिर न बनाउनेलाई बरु बनाउनेलाई त एउटै पिर कति भ्युअर्स पायो र डलर झार्‍यो ।

केही समय यताको युट्युबको ट्रेन्ड हेर्ने हो भने अनेक थरी नाममा खोलिएका च्यानल र एउटा निश्चित कार्य क्षेत्र नभएका अनि अनेकन् विषयमाथि अनावश्यक खोजी नीति गरिएका भिडियोहरू निकै चर्चामा आइरहेका छन् । ती भिडियोले कि त समाजमा द्विअर्थी सन्देश प्रवाह गरिरहेका हुन्छन् कि कसैमाथि खेदो खनेको वा कसैलाई भगवान् बनाइरहेका हुन्छन् । निसन्देह भन्नु पर्दा आजको दिनमा प्रशासन, न्यायालय, मन्दिर र कुण्ठा र भडास पोख्ने भट्टी समेत युट्युब बनेको छ । हामी युट्युबका थम्बनेल हेर्दै अरेका पछि लाग्छौँ । 
केही समय अघि एउटा नामले युट्युब तहल्का मच्चायो धेरैले डलरका खेती गरे ती हुन् ज्योतिष अर्जुन छेत्री । उनिलाई कतिले हिरो बनाए कतिले उनका नाम जोडेर सत्तोसराप गरे, जसले जे गरे उनी चर्चामा आए । त्यसपछि कोही आए आफ्नो बौधिकता देखाए संसार भरीका ज्ञान आफूसँग भएको प्रमाणित गर्न खोजे । यसैबिच आए एक अघोरी बाबा जसले युट्युबमा धमाका मच्चाए । रातारात हिट भए, उनका डाइलग भाइरल भए, भिडियो ट्रेन्डिङमा आए । यसैबिच अर्को हलचल मच्चियो जब पत्रकार शालिकराम पुडासैनीको आत्महत्या अघि खिचिएको भिडियो बाहिरियो । भिडियो बाहिरिएसँगै युट्युबमा डलर कमाउन न्यायालय, पुलिस प्रशासन अनि सरकार नै लिएर बसेका युट्युबका सञ्चालकका दिन आए । यथार्थलाई सबै सामु ल्याउने भन्दै खोल ओढेकाहरू थम्बनेल र शीर्षक जुराउन थाले जसले दर्शक अब चाहिँ सत्य पत्ता लागेछ  भन्दै  भिडियो खोलोस्, अन्तिमसम्म हेरोस् अनि पाओस् उही पुरानै नालिबेली । 

 

समस्या त्यसै समस्या बन्ने कदापि होइन । तर यसलाई संयमित बनाउने संयन्त्र मुख्य जिम्मेवार ठहरिन्छन् । यसरी सही तरिकाले अनि सही सूचना सम्प्रेषण गरिरहेकाहरूमा समेत नराम्रो छाप परिरहेको छ । युट्युब वास्तवमा खराब कदापि होइन यसले हरेक मानिसलाई एउटा स्वतन्त्र मार्गदर्शन दिने गर्छ, आफ्नो रुचि र आफूलाई बाहिर ल्याउने काम गर्छ । तर पछिल्लो समय हामी कता तिर डोरिइरहेका छौँ ? के गर्दै छौँ सायद अन्योल यही बनेको छ । सूचना सम्प्रेषण गर्ने नामामा समाजलाई कुन दिशामा दोहोर्‍याइरहेका छौँ सोच्ने बेला भने भैसकेको हो । हामीले हाम्रा साना छोरा छोरी, भाइ बहिनीका अगाडी यस्ता दिशाहीन र ग्रसित मनोदशा सृजना गर्ने विषयमा अल्झिरहँदा उनीहरूले के सिक्लान् सोच्ने बेला भएको त छैन ?