भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'मारुनी' टिम यति बेला प्रचारप्रसारमा व्यस्त छ । चलचित्रका मुख्य कलाकार अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह सहित निर्माता, निर्देशकको टोली देश दौडाहमा लागेको छ ।  इटहरीबाट सुरु भएको प्रचार प्रसारको यात्राका क्रममा इटहरी पछि चितवन पुगेको टिमले चितवनमा भव्य कन्सर्ट आयोजना गर्‍यो ।  चितवनको नारायणी नदी किनारमा आयोजना भएको कन्सर्टमा हजारको आसपासमा दर्शकहरूको उपस्थितिमा पुष्प र साम्राज्ञीले चलचित्रको दुई गीत 'जाम न माया जाम' र 'सक्दिन म बाँच्न' मा प्रस्तुति दिएका थिए । उनीहरूले कार्यक्रममा बोल्दै चलचित्र राम्रो बनेकोले हलमा गएर हेर्न आग्रह समेत गरेका थिए ।

चलचित्रकी निर्माता पुनम गौतमले आफ्नो घर नै चितवन भएकोले आउन लागेको तीजमा माइतीलाई 'मारुनी' कोसेली लिएर आएको बताइन् । साथमा निर्देशक नवल नेपालले आफूले मुटु छुने चलचित्र बनाएकोले सबैलाई हेरिदिन आग्रह गरे । 'मारुनी'को मोफसल यात्रा  चितवन पछि भदौ ७ गते पोखरा, ८ गते बुटवल र ९ गते नेपालगन्ज सम्म हुनेछ ।