क्युट, इमोसनल अनि लभर गर्लको भूमिकाबाट चिनिएकी अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत एक्सन चलचित्र 'जाइरा' आज शुक्रवारबाट देशब्यापी रूपमा प्रदर्शनमा आएको छ । चलचित्रको शुक्रवार विशेष शो पनि आयोजना गरिएको छ । पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएकी नम्रता, हरेक चलचित्रमा सानो भूमिका भए पनि जीवन्त अभिनय गरेर दर्शकको मनमा बस्न सफल प्रमोद अग्रहरी, अनुपविक्रम शाही, तथा ट्रेलरबाटै बुलेट गर्लको रूपमा चिनिएकी डेब्यु अभिनेत्री सृजना रेग्मी अभिनीत सिङ्गो प्याकेज 'जाइरा'लाई विशेष शोमा कलाकार, मिडियाकर्मी तथा उपस्थित व्यक्तित्वको तारिफ मिलेको छ । चलचित्र हेरिसकेपछी प्रतिक्रिया दिँदै उपस्थित अतिथिहरूले आफूलाई चलचित्र मन परेको र फरक स्वादको चलचित्र हेर्न पाउँदा खुसी लागेको बताएका छन् । चलचित्रकी नायिका तथा निर्मात्री नम्रताले आफूले पहिलो पल्ट आफ्नो फरक काम र स्वरूप पर्दामा हेर्दा आफ्नो मिहिनेत खेर नगएको अनुभव भएको बताएकी छिन् । निर्देशन देखी अन्य सबै कलाकारले निकै मिहिनेत गरेको र दर्शकलाई पनि मन पर्नेमा विश्वस्त छिन् ।
यसै गरी चलचित्र हेर्न उपस्थित भएका गायक रामकृष्ण ढकाल, अभिनेत्री तथा निर्माता निर्देशक दीपाश्री निरौला लगायतले आफूलाई चलचित्र मन परेको बताएका छन् । मिडिया सामु आफ्नो प्रतिक्रिया राख्दै दीपाश्रीले नेपालमा 'जाइरा'जस्ता महिला केन्द्रित चलचित्र निर्माण हुनुपर्ने र आफूलाई पनि त्यस्तै जनराको चलचित्र मन पर्ने भन्दै कहीँ कतै कमजोरी देखिए पनि समग्रमा चलचित्र हेर्दा मनोरञ्जन हुने बताइन् ।
आशुतोष श्रेष्ठले निर्देशन रहेको यस चलचित्रले सोलो रिलिजको अवसर हात पारेको छ । रिलिजको पहिलो दिन ‘जाइरा’लाई राजधानीका मल्टीप्लेक्सले राम्रै शोज उपलब्ध गराएका छन् । अब चलचित्र लामो रेसको घोडा बन्न सक्छ सक्दैन केही समयमा नै थाहा लाग्नेछ ।