शनिवार नेपाली रजतपटकी एक हस्ती कलाकार निर्देशक दीपा श्री निरौलाको जन्मदिन रहेको थियो । उनको जन्मदिन मनाउन र शुभकामना दिनको लागी नेपाली चलचित्रका धेरै कलाकार र अन्य उनका शुभचिन्तक उपस्थित भएका थिए । चलचित्र 'छक्का पन्जा' सिरिजले सफल निर्देशकको रूपमा स्थापित दीपाको जन्मदिन विशेषमा उनको आगामी चलचित्र 'छ माया छपक्कै' टिम लगायत दीपा र दीपकका छोरा अर्थात् टेलिशृङ्खला 'तितो सत्य'का अनस्क्रीन छोरा राज पनि उपस्थित भएका थिए ।
लामो समय यो क्षेत्रबाट टाढा रहेका राज आफ्नो सिए को पढाइ सकेर नेपाल आएका हुन् । दीपाको जन्मदिनमा शुभकामना दिँदै माग्ने बुढा(केदार घिमिरे), दीपक राज गिरीले निकै भावनात्मक र रमाइलो माहौल बनाए । नेपाली चलचित्रलाई निकै माया गर्ने र यसै क्षेत्रको लागी जन्मिएकी दीपा आफ्नो अभिभावक जस्तै भएको र आफूलाई सधैँ माया र अगाडी बढ्न प्रेरणा दिने भन्दै माग्ने बुढा भावुक पनि भए । यसै गरी आगामी चलचित्रको लागी शुभकामना र साथ दिने बचन समेत दिए ।
एक वर्ष यता दीपामा आएको परिवर्तन बारे बोल्दै दीपकले दीपामा अलि छिट्टै रिसाउने र मनमा लागेको कुरा बोलिहाल्ने र भएको बताउँछन् । यसै गरी दीपाको बारेमा कहिल्यै नराम्रो सोच मनमा नआउने र बाहिरी दुनियाँले जति नराम्रो भने पनि टिममा कहिल्यै नराम्रो नहुने विश्वास राख्छन् । जन्मदिनको रमाइलो र कहिल्यै नबिर्सिने किस्सा सुनाउँदै दीपकले 'तितो सत्य'को काम गर्दा दीपाको जन्मदिन बिर्सेको र एक महिनासम्म बोलचाल बन्द भएको सुनाए ।