गत हप्ता नेपाली रजतपट लगभग शून्य जस्तै रह्यो । यदाकदा सामान्य कार्यक्रम अनि चलचित्र सम्बन्धी पत्रकार सम्मेलन र रिलिज प्रमोसनका कार्य अगाडी बढेका थिए । विगत केही दिन यता देश नै एउटा अन्योलमा रहिआएको छ । जसले गर्दा समस्त चलचित्र लगायत क्षेत्र नै प्रभावित भएका छन् । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या अनि पत्रकार रवि लामिछाने लगायतको गिरफ्तारीले हलचल मच्चिएको बेला नेपाली चलचित्र पनि अछुतो रहने कुरा नै भएन । यसैबिच केही कार्यक्रम तथा समारोहहरू आयोजना भए जसले नेपाली फिल्म जगतलाई चलायमान बनाउन सहयोग पुर्यायो । हेरौँ तस्बिरमा यो हप्ता ।
सदाबहार अभिनेत्री रेखा थापाले बिहीबार नजिकका साथी लगायत केही कलाकारहरूको उपस्थितिमा जन्मदिन मनाइन् । करिब डेढ दशकयता नेपाली चलचित्र क्षेत्रमा अभिनय देखी निर्माता निर्देशक बनेर निरन्तर अगाडी बढिरहेकी दर्शकले अत्यन्त रुचाएकी अभिनेत्री थापाको जन्मदिन बालुवाटार स्थित श्वेता खड्काको कफी सप (हिमालयन जाभा)मा मनाइएको थियो ।उनलाई जन्मदिनको शुभकामना दिन उनका समकक्षी कलाकार, नजिकका साथी तथा केही मिडिया कर्मी उपस्थित थिए ।
यही शुक्रवार बाट प्रदर्शनमा आएको चलचित्र 'जाइरा'को प्रचार प्रसारका क्रममा चलचित्रका मुख्य कलाकार प्रमोद अग्रहरी र सृजना रेग्मी । नम्रता श्रेष्ठ स्टारर चलचित्र 'जाइरा'मा सृजना र प्रमोदले भिलेनको रोल निभाएका छन् ।
कमेडी जनरामा निर्माण हुने चलचित्र 'लक्का जवान' को शुभ मुहूर्त गरिएको छ । पाटनको बङ्गलामुखी मन्दिरमा सोमबार बिहान चलचित्रका टिमको उपस्थितिमा चलचित्रको साइत गरिएको हो । चलचित्रको मुहूर्त सँगै छायाङ्कन पनि सोमबारबाटै सुरु गरिने सह-निर्माता किरण केसीले बताएका छन् ।
क्युट, इमोसनल अनि लभर गर्लको भूमिकाबाट चिनिएकी अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत एक्सन चलचित्र 'जाइरा' शुक्रवारबाट देशब्यापी रूपमा प्रदर्शनमा आएको छ । चलचित्रको शुक्रवार विशेष शो पनि आयोजना गरिएको थियो । उक्त शोमा चलचित्रलाई उपस्थितले मिश्रीत प्रतिकृया दिएका थिए ।
सिजन एक र दुई निकै उत्साहजनक र सफल रहेको हिमालयन रोडिजको तेस्रो सिजन सुरु हुने भएको छ । शुक्रवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै तेस्रो सिजनको औपचारिक घोषणा गरिएको हो । एड्भेन्चर रियालिटी सो हिमालय रोडिज सिजन ३ मा नयाँ चुनौती, नयाँ ढाँचा, नयाँ अनुहार एवं नयाँ शैलीको खेल हुने निर्देशक अमन प्रताप अधिकारीले बताएका छन् ।
बलिउडमा समेत आफ्नो अभिनयले मन जितेका उनै सुनिल थापा उर्फ राते काइँलाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनी फिचर्ड हिप-हप गीत 'झ्याम पुतली' सार्वजनिक भएको छ । चलचित्रमा भिलेनको रूपमा दर्शकको मन जितेका उनी म्युजिक भिडियोमा पनि उही भावको भूमिकामा देखिएका छन् ।
पत्रकार सालिकराम पुडासैनीको हत्या हो या आत्महत्या भन्ने विषयमा अनुसन्धान भइरहेका बेला चौतर्फी रूपमा पत्रकार रवि लामिछानेका समर्थकहरू उनी निर्दोष रहेको भन्दै आवाज उठाइरहेका छन् । यसैबिच शनिवार रिपोटर्स क्लब नेपालमा सत्य तथ्य अनुसन्धान भएर दोषीलाई कारबाही र निर्दोषलाई सम्मानजनक रिहाको आवाज उठाउन कलाकारहरूको सहभागितामा एक कार्यक्रम सम्पन्न भयो ।
भदौ ७ गते नेपाली र जतपटकी निकै चर्चित कलाकार दीपाश्री निरौलाको जन्मदिन परेको thiyo । नेपाली र जतपटमा रेडियो प्रस्तोताबाट टेलिसिरियल हुँदै ठुलो पर्दाको चलचित्रमा अभिनय गर्दै निकै सफल निर्देशक निर्माता बन्न सफल दीपा निरन्तर नेपाली फिल्म जगतमा समर्पित छिन् ।